सातदोबाटोमा अडोटोरियम हल उदघाटन

सातदोबाटोमा अडोटोरियम हल उदघाटन


सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हल उदघाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सोमबार हल उदघाटन गरेका हुन् ।

आर्थिक वर्ष ०७३/७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

उदघाटनपछि सोही हलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सो अवसरमा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै खेलकुदका ठूला पूर्वाधार निर्माणमा सरकार केन्द्रीत रहेको बताए । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुदले खेलाडीमा उर्जा थपेको बताए ।

खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबैको सहयोगले गर्दा आठौं राष्ट्रिय खेलकुद सम्भव भएको बताउदै राष्ट्रको प्रतिष्ठाका लागि साग निर्धारित समयमै आयोजना हुनुपर्नेमा जोड दिए ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले समग्रमा आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताउदै अब सागलाई अर्जुनदृष्टि बनाएर सम्बन्धित सबै अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुद प्रति गद्दारी हुने धारणा व्यक्त गर्दै आफूले तर्किने गरी हिँड्नुपर्ने कुनै काम नगरेको बताए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीहरुले आठौं र सागका विषयमा आ–आफ्नो धारणासहितको सुझाव दिएका थिए । १३ औं साग सचिवालयका प्रमुख कमल खनालले हालसम्म भएका सागको तयारीका विषयमा जानकारी गराएका थिए भने आठौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख इन्द्र कार्कीले आठौं राष्ट्रिय खेलकुदको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा सदस्य–सचिव विष्टको चारवर्षे कार्यकालमा आधारित रहेर तयार गरिएको ‘यात्रा’ नामक पुस्तकको पनि खेलकुद मन्त्री विश्वकर्माले विमोचन गरेका थिए ।