सहमतिपछि तल्लो मोदी सञ्चालनमा

सहमतिपछि तल्लो मोदी सञ्चालनमा


पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन सातापछि सोमबारदेखि सञ्चालन भएको छ ।

जिल्ला प्रशासन कार्यालयकोे पहल तथा प्रतिनिधिसभा सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीचमा सहमति भएपछि परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनाको काम सञ्चालन भएको हो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कार्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ ।

आयोजनाको विद्युत् उत्पादनपछि २३ को दरबन्दीमा खुला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एक लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । आयोजनाले २३ जनाको दरबन्दीमा दरखास्त आह्वान गर्दा कार्यरत ४० वर्षभित्रका कर्मचारीलाई प्रतिस्पर्धा गर्न पाउने र प्रतिस्पर्धामा नाम ननिस्केमा प्रोत्साहन रकम बराबर रु एक लाख १५ हजारसम्म पाउने व्यवस्था भएको छ ।

‘लामो प्रयासपछि दुवै पक्षको सहमतिमा आन्दोलन टुङ्गिएको छ’, प्रजिअ नेपालले भनिन्, ‘अब निर्माणकार्य सञ्चालन हुने भएको छ ।’ निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरेपछि जेठ २० गतेदेखि निर्माणकार्य ठप्प बनेको थियो ।

निर्माणकार्य रोकिएपछि असार पहिलो साता परीक्षण उत्पादन गर्ने तयारीमा रहेको जलविद्युत् आयोजनाको उत्पादन मिति पर धकेलिएको छ । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सबै काम दुई हप्ताभित्र सम्पन्न गरेर परीक्षण उत्पादन थालिने भएको छ ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको सुरुङ परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि सुरुङमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित विद्युत्गृहदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो सुरुङको बीचबीचमा कमजोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको छ ।

विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।