ज्येष्ठ नागरिक आठ महिनादेखि सामाजिक सुरक्षाभत्ताबाट वञ्चित

ज्येष्ठ नागरिक आठ महिनादेखि सामाजिक सुरक्षाभत्ताबाट वञ्चित


सप्तरीको बोदे बर्साइन नगरपालिकाको लापरबाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिला सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिला विगत आठ महिनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् ।

गत वर्षको मंसिरदेखि सामाजिक सुरक्षा भत्ताबापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताए । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ ।

‘सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिएँ,’ बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भने, ‘श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।’ भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उनको गुनासो छ ।

मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताए ।

अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ ।