ट्यांकरको ठक्करबाट मोरङमा शिक्षकको मृत्यु

ट्यांकरको ठक्करबाट मोरङमा शिक्षकको मृत्यु


मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित कोसी राजमार्गमा ट्यांकरको ठक्करबाट सोमबार बिहान एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेका छन् । ना.४ख १९०५ नम्बको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको को.२६प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

डिजेल पुऱ्याएर सिरहाबाट विराटनगरतर्फ फर्किंदै गरेको अवस्थामा भएको सो दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पुऱ्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पौडेल विराटनगरस्थित आईटीसम्बन्धी पढाइ हुने हिमालय कलेजको शिक्षक हुन् । ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।