पौडेलको हत्याबारे गृहमन्त्री थापा र पूर्वगृहमन्त्री जनार्दनबीच भनाभन

पौडेलको हत्याबारे गृहमन्त्री थापा र पूर्वगृहमन्त्री जनार्दनबीच भनाभन


गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । गृहमन्त्री थापाले सोमबार संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै भने, ‘अनटेस्ट मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरूसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।’

उनले घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा मृतक नेत्रविक्रम चन्दले नेतृत्व गरेका नेकपाको सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका– २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको बताए । सांसदहरूको जवाफ दिँदै उनले पौडेललाई मार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनको मृत्युबारे छानबिन गर्ने पनि बताए ।

गृहमन्त्री थापाको भनाइपछि सत्तारुढ पार्टी नेकपाकै नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले कुमार पौडेलको मुठभेडमा मृत्यु भएको भन्ने सरकारी दाबीलाई पत्याउन नसकिने दाबी गरे । शर्माले मुठभेडमा मारिएका व्यक्तिको हात कसरी पाँच ठाउँमा भाँचियो भन्दै गृहमन्त्री रामबहादुर थापासँग प्रश्न गरे ।

उनले सोमबारकै राज्य व्यवस्था समितिको बैठकमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपालाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए । समस्याको समाधान वार्ताबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।