काठमाडौं, ललितपुर र भक्तपुरमा डेंगुको खतरा

काठमाडौं, ललितपुर र भक्तपुरमा डेंगुको खतरा


काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा डेंगुको खतरा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अध्ययनका क्रममा डेंगु फैलाउने एइडिज एइजेप्ती लामखुट्टे भेटिएपछि तीनै जिल्ला डेंगुको लागि खतरा मानिएको हो ।

डेंगु फैलाउने एइडिज एइजेप्ती लामखुट्टे भेटिएपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबाट जोगिन सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख घनश्याम पोखरेलका अनुसार रोग फैलाउने लामखुट्टे राजधानीमा भेटिएको बताएका छन् ।

मनसुनसँगै भित्रिने यो रोगको खतरा भएकोले सरकारले सचेत रहन आग्रह गरेको हो ।
राजधानीका तीन वटै जिल्लामा डेंगुको खतरा रहेपनि अहिले भने काठमाडौंको बनस्थली क्षेत्र बढी खतरामा रहेको मन्त्रालयको निष्कर्ष छ । गतवर्ष काठमाडौंको सानो भर्याङ क्षेत्रमा १८ जनालाई डेंगु लागेको थियो ।

यस्ता छन् लक्ष्ण
डेंगु लागेपछि धेरै ज्वरो आउने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विविरा आउने लगायतका लक्षण हुन् । डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा पनि टोक्ने हुँदा शरीर ढाक्ने पूरा बाहुला भएको लुगा लगाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । घरमा सुत्दा झुलको प्रयोग गर्ने र शरीरमा ओडोमस लगायतका क्रिम लगाउनुपर्ने विज्ञको सुझाव छ ।

डेंगु रोग लाग्यो र समयमै उपचार भएन भने मानिसको मृत्युसमेत हुने गरेको छ । त्यसैले ज्वरो आउनासाथ वा डेंगु लागेको शंका लागेमा स्वास्थ्य जाँच गराउनुपर्ने र ज्वरो घटेको ४८ घण्टासम्म पनि अवस्था जोखिमपूर्ण नै हुने भएकाले विरामीलाई चिकित्सकको निगरानीमा राख्नु उपयुक्त हुने विज्ञहरुको कथन रहेको छ ।