साडीको पासो लगाएर हिरासतमै आत्महत्या

साडीको पासो लगाएर हिरासतमै आत्महत्या


सिराहको सखुवानन्कारकट्टीस्थित इलाका प्रहरी कार्यालय महेशवारीको थुनुवा कक्षमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । मोबाइल चोरीको आरोपमा शनिबार लहानबाट पक्राउ परेकी २५ वर्षीया सुमनदेवी ठाकुरले शौचालयको भेन्टिलेसनको रडमा साडीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।

आइतबार बिहान ७ बजेतिर महिला थुनुवा (हिरासत) सँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राख्न ठाउँ नभएकोले ठाकुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयको थुनुवामा पठाइएको हो ।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले लहानस्थित एउटा मोबाइल पसलमा मोबाईल बेच्न आएकी थिइन । उनलाई मोबाईल बेच्ने क्रममा विशेष सुराकको आधारमा लहानको प्रहरी टोलीले मोबाईल चोरीको आरोपमा पक्राउ गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।