प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य हुनुपर्ने !

प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य हुनुपर्ने !


■ सुरज घिमिरे, अर्घाखाँची

प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य भए मात्र पाउने नत्र नपाउने गरी नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको भन्दै उक्त अनियमितता तत्काल बन्द गर्न नेपाली कांग्रेस मालारानी-४ खनले माग गरेको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा हुने विकास निर्माण तथा अन्य कार्यहरुमा नेकपाले एक्लौटी काम गरेको, काममा पारदर्शिता नभएको, उपभोक्ता समितिहरु एक्लौटी बनाएर आर्थिक पारदर्शिता नगरेको भन्दै नेपाली कांग्रेस मालारानी-४ खनले वार्ड कार्यालयले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि राजनीति गरेको र नेकपाका ज्येष्ठ नागरिक बोलाएर कांग्रेसका ज्येष्ठ नागरिकलार्इ कार्यक्रमबाट बञ्चित गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विकासका योजनाहरुमा आफ्ना नजिकका आसेपासेका मेसिनरी औजारहरु प्रयोग गरेको, सुचीकृत भएका निर्माण कम्पनी तथा कनट्रक्सनलाई खबर नै नगरेको जस्ता बुँदाहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

योजना तथा समग्र वडाको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गरेको नदेखिएको पनि ध्यानाकर्षण पत्रमा उल्लेखित गरिएको छ ।

ध्यानाकर्षण पत्र नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुको उपस्थितिमा वडा अध्यक्षलाई बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझाएपछि नेपाली कांग्रेस मालारानीका सभापति खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुले कार्यकर्तालाई सम्बोधन गरेका थिए ।