जमिन भासिँदा पर्वतको जिससको भवन भत्कियो

जमिन भासिँदा पर्वतको जिससको भवन भत्कियो


लगातारको वर्षाले जमिन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जमिन भासिएपछि जिससको भवनमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका दुईवटा कार्यकक्ष पूर्ण रूपमा चर्किएर क्षति पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयको विपत व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र आएतबार बिहान ५ बजेको समयमा जमिन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा उक्त भवन भत्किएको हो । भवनबाट धुलो माटो खस्न थालेपछि उठेर हेर्दा भवन चर्किएको र कोल्टे परेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामान हटाएको भण्डारीले बताए ।

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यानसमेत नरहने उनको भनाइ थियो । जिससका प्रमुख मनोहर बी पौडेलले कार्यक्रमका सिलसिलामा दक्षिण पर्वतको हुवासमा रहेकाले के–कति क्षति भयो भन्ने यकिन विवरण जानकारी नभएको बताए । उनले सोही ठाउँमा समन्वय समितिको पक्की भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिए ।

उक्त भासिएको भवनको निरीक्षण गर्दै कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने, भासिने गरेकाले त्यसको उचित निकासका लागि व्यवस्था गरिने बताए । जिल्ला विपत व्यवस्थापन समितिमार्फत थप सहयोगका लागि संघीय तथा प्रदेश सरकारसँग बजेट माग गरी दिगो व्यवस्थापन गरिने उनको भनाइ छ । जिससको भवन पटकपटक भासिने गरेको छ । विगतमा पनि जिल्ला अनुसन्धान कार्यालय रहेको भवन भासिएको थियो ।