कर्णालीमा बलात्कारका घटना दोब्बरले वृद्धि

कर्णालीमा बलात्कारका घटना दोब्बरले वृद्धि


पछिल्लो नौ महिनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा करिब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहका अनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् ।

उनका अनुसार आव ०७२–७३ मा ६८ र ०७३–७४ मा ६७ बलात्कारका घटना भएका थिए । यस आर्थिक वर्षको चैतसम्ममा मात्र ११६ बलात्कारका घटना भएको तथ्यांकमा उल्लेख छ । प्रहरी प्रमुख शाहले अधिकांश बलात्कारका घटनामा बालिका नै पीडित भएको बताए ।

बलात्कारसँगै बहुविवाह, बालविवाहका घटना पनि उल्लेख्य रहेकाले यसका लागि आर्थिक मामिला तथा कानुन मन्त्रालयको शान्तिसुरक्षा अभियानअन्तर्गत महिला हिंसा र लागुऔषधको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । जिल्लाका ७९ स्थानीय तहका सबै वडामा उक्त कार्यक्रम सञ्चालन गर्न प्रशिक्षकलाई तालिम दिइरहेको पनि प्रहरी प्रमुख शाहको भनाइ थियो ।
रासस