स्थानीय तहलाई अर्थ मन्त्रालयको निर्देशन : ‘असार १० भित्रै बजेट ल्याउनु’

स्थानीय तहलाई अर्थ मन्त्रालयको निर्देशन : ‘असार १० भित्रै बजेट ल्याउनु’


अर्थ मन्त्रालयले असार १० भित्रै बजेट ल्याउन स्थानीय तहलाई निर्देशन जारी गरेको छ । स्थानीय तहले अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार असार १० भित्रै बजेट पेश गरिसक्नुपर्छ । तोकिएको समयभित्रै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रवन्धमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षमा स्थानीय तहले बजेट ढिलागरी ल्याएका कारण पनि अर्थ मन्त्रालयले निर्देशन नै जारी गरेको हो । जेठ १५ मा संघीय सरकारले र असार १ गते प्रदेश सरकारले बजेट पेश गरिसकेका छन् । दुवै सरकारले छुट्याएको बजेटको आकारमा रहेर स्थानीय तहले बजेटको अंक टुंगो लगाउनुपर्ने हुन्छ ।