माईतीघरको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो : यादव

माईतीघरको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो : यादव


राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले सरकारको कामकारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दापनि मुलुक सही ठाउँमा नपुग्ने दाबी गरे । उनले भने,‘पछिल्लो समय सरकारप्रति जनताको विश्वास घट्दै गएको छ । अविश्वास र निराशा बढ्दै गएको देखिन्छ ।’

यादवले जनतामा सरकारप्रति अविश्वासको खाडल बढ्दै गएको र यही मौका छोपेर अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा नराम्रोसँग खेल्न थालेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले त जसलाई जे मन लाग्यो, त्यही बोल्ने चलन छ । सरकार सफल भन्दै हिँडेको छ । र केही हारको कुण्ठा बोकेर हिँडेका छन् ।’

पछिल्लो समय राजनीतिक दल र यसका जिम्मेवार नेताहरु कुनै न कुनै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको पनि आरोप लगाए । उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालको स्टाटस के हो ? भन्दै सरकारसँग प्रश्न तेर्साए । उनले भने,‘परराष्ट्रमन्त्रीले यसबारेमा शब्द खेलाएर जवाफ दिनुभएको छ । मैले यो कुरा संसदमा पनि उठाएको छु । यो गम्भिर विषय हो । त्यसैले गैरजिम्मेवारी अभिव्यक्ति दिएर उम्किन मिल्दैन ।’

वर्तमान प्रधानमन्त्री ओली भजन मण्डले र केही सिमित व्यक्तिहरुको घेरामा बाँधिएको उनको आरोप छ । उनले भने,‘माईतीघरमा गुठी विद्येयकको विरुद्धमा भएको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो ।’ सरकारले महत्वपूर्ण विषयमा र प्रत्यक्ष जनतासँग जोडिएको विषयमा सबैसँग छलफल गर्नुपर्ने र साझा दृष्टिकोण बनाउनुपर्ने पनि उनको भनाई छ ।

दुई तिहाई बोकेको सरकार र नेकपा अहिले गुटै–गुट र उपगुटमा भासिएको पनि यादवको आरोप छ । उनले भने,‘यो सरकार र यसको नेतृत्वप्रति जनतामा ठूलो निराशा छ ।’ नेताहरुले ठूलो त्याग, संघर्ष र बलिदानी दिएर अहिलेको उपलब्धि हाँसिल भएको भएपनि नेतृत्वको चरित्रमा परिवर्तन नभएको पनि उनले टिप्पणी गरे ।

नेपालमा बाहृय हस्तक्षेप भए मुलुकको हित र पक्षमा प्रयोग गर्न सक्नुपर्नेपनि उनको धारणा छ । सदनभित्र र सदन बाहिर रहेका शक्तिहरुलाई सरकारले विश्वासमा लिएर अघि बढ्न सकेमात्रै मुलुक र जनताको हितमा हुने उनको सुझाव छ ।
यादवले लोकसेवा आयोगको विज्ञापन संविधानको खिलाफमा रहेको पनि आरोप लगाए । उनले भने,‘गुठी विद्येयक फिर्ता लिएर सच्याउन खोजिएझैं लोकसेवा आयोगको विज्ञापनपनि सच्याउनुपर्छ ।’ वर्तमान सरकारका मन्त्रीहरु नै प्रचारमुखी भएको उनको आरोप छ । उनले भने,‘मन्त्रीहरु त वास्तवमै आफ्नो क्षेत्रका मन्त्री मात्रै भए ।’

इतिहास र नेपाली जनताले वर्तमान प्रधानमन्त्री ओलीलाई ठूलो अवसर दिएको भएपनि उनले अवसरको सही सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘उहाँ सानो घेरामा मात्रै रमाउनुभयो ।’