अदृश्य अभिव्यक्ति नियन्त्रण मन्त्रालय !

अदृश्य अभिव्यक्ति नियन्त्रण मन्त्रालय !


■ स्वयम्भूनाथ कार्की

सूर्यबहादुर थापालाई व्यङ्ग्य गरेको महको प्रहसन ‘रद्दीको टोकरी’ वीरेन्द्र सभागृह विराटनगरमा हेर्ने मौका पाएको थिएँ । त्यो ०३७ सालतिर हुनुपर्छ, सुधारिएको पञ्चायतका प्रथम प्रधानमन्त्री सूर्यबहादुर थापा चार लाखको झिनो मतले बहुदल हराएकोमा घमण्डले चूर थिए । जंगबहादुरले महाराज सुरेन्द्रबाट श्री ३ को पदवी पाएसरह आफूले पनि पारितोषिक पाउनुपर्ने अव्यक्त चाहना खुला–गोप्य नै थियो ।

तलबाट चुनिँदै जानुपर्ने पद्धति सुधारिएर वालिग मताधिकारको आधारमा सीधै राष्ट्रिय पञ्चायतको निर्वाचन घोषणा भएको बेला त्यो प्रहसन आएको थियो । अन्य धेरै व्यङ्ग्यको साथै त्यो निर्वाचन निष्पक्ष हुने भनाइमा पनि व्यङ्ग्य गरिएको थियो । हरिवंशले निर्वाह गरेको पात्रले निर्वाचन निष्पक्ष हुने कुरा आफूले नपत्याएको भन्छ । त्यसको जवाफमा मदनकृष्णले निर्वाह गरेको पात्रले भन्छ ‘निष्पक्ष त निष्पक्ष नै हुन्छ तर हाम्रो पक्षमा निष्पक्ष हुन्छ ।’

अहिले ४० वर्ष पुग्नै लाग्दा पनि यो संवाद भुल्न मेरो परिवेशले दिएको छैन । त्यसको १० वर्ष करिबमा बहुदलको पुनस्र्थापनापछि धेरै कुरामा यस्तै तर्कहरू लगातार आइरहेका छन् । यसको मात्रा प्रतिदिन बढ्दै जाँदै छ । स्वतन्त्र नागरिकले मतदान गर्ने भनिए पनि हार्नेले अन्तर्घात भनेर नागरिक स्वतन्त्रतामा प्रहार गरिरहेको छ । अभिव्यक्ति स्वतन्त्रताको जति बखान गरिए पनि आफ्नाविरुद्धको अभिव्यक्तिको विरोध गर्न कार्यकर्ता खटाइने गर्दछ । कार्यकर्ता पनि लरतरा होइनन् बाहुवली कार्यकर्ता । आलोचनाको एक शब्दलाई लिएर ठूलो रडाको हुने गर्दछ, तैपनि विरोधको स्वागत गरिनुपर्ने कुरा भन्न छोडिँदैन । अर्थात् आफूले गरेको विरोधको स्वागत गरिनुपर्छ, तर आफ्नो विरोध भने गरिनुहुन्न ।

पञ्चायत फालिएको समय पञ्चायतले भोग गरेको समयभन्दा धेरै हुन लागिसक्यो, तैपनि पञ्चायतले गरेन भनेर नअलापी कसैको भाषण पूर्ण नै हुन्न ।

पञ्चायत फालिएको समय पञ्चायतले भोग गरेको समयभन्दा धेरै हुन लागिसक्यो, तैपनि पञ्चायतले गरेन भनेर नअलापी कसैको भाषण पूर्ण नै हुन्न । सामान्य विरोधका स्वरहरू हुँदा पनि विरोधीले हातै पक्रेजस्तो काम नगर्ने कारण बनाउन कसैले छोडेको छैन । हमेसा विरोध खपेर विरोधीका नजिक भएका कर्मचारीबाट पञ्चायतले कसरी त्यति काम गर्न सक्यो ? पञ्चायतको बेलामा काम गरेका उच्चदेखि निम्नपदस्थ कर्मचारीहरू पनि अहिले खुला रूपले आफूले व्यवस्था ढाल्न योगदान गरेको कुरा सगौरव भन्दै छन् । भन्ने मात्र होइन आत्मकथा लेखाउँदै पनि छन् । पञ्चायतपछिको व्यवस्थाहरूमा त सत्ताधारीको अनुकूल नभएकाहरू हरेक सत्ता परिवर्तनपछि पाखा लगाइएका उदाहरणहरू प्रशस्त छन् । यो कालखण्डमा दायर भएका रिटहरूलाई विषयगत विभाजन गर्ने हो भने पद बहाली गर्न पाउनुपर्ने विषय नै धेरै होलान् ।

सभ्य भाषामा भन्दा कुनै न कुनै दल नजिक भएकाहरूको रूपमा पूरा मुलुक विभाजित छ । आफूनजिक भएका दलको भजन गाउनु र टाढा भएकाको उछित्तो काढ्नु नै माथि चढ्ने सिँढी भएको छ । यसैले रचनात्मक सोचको आशा राख्नु नै निरर्थक छ । राजा महेन्द्र्रले साहित्यकारहरूलाई अनुरोध गरे, ‘साहित्यकारहरूले ब्रह्मले देखेको कुरा लेखिदिए त्यो राष्ट्रको ठूलो सेवा हुनेछ ।’ वर्तमान गणतन्त्रमा लाग्छ अदृश्य अभिव्यक्ति नियन्त्रण मन्त्रालय छ । केही ठूला नामधारी खटिएका छन् जसको काम नै सर्जकहरूलाई यो विषयमा यस्तो लेख भनेर निर्देशन दिनु रहेको छ । यहाँ मैले प्रचलित स्रष्टा भन्दा सर्जक शब्द जानी–बुझी प्रयोग गरेको छु । किनभने सृष्टि हुँदै नभएको कुरा वा वस्तु प्रादुर्भाव गर्नु हो, सिर्जनाचाहिँ उपलब्धबाट केही निर्माण गर्नु हो । कुनै कुराको सृष्टि एकपटक मात्र हुन्छ, सिर्जना बारम्बार हुन्छ, परिमार्जन हुन्छ ।

गणतन्त्र बचाउन सिर्जना गर्नुपर्छ भन्ने आदेश आउने मात्र होइन स्वतन्त्र अभिव्यक्तिहरूलाई छाडापन नियन्त्रणको बहानामा बन्देज पनि गर्न थालिएको छ । पत्रकारले लेखेको कारणले प्रताडित हुनुपर्छ । कसैले सामाजिक सञ्जालमा पोखेको अभिव्यक्तिले थुनामा पर्नुपर्छ । यहाँसम्म कि सरकारको कुनै काम ठीक भएन भनेर भन्दा बुटको चुटाइ खानुपर्छ । कालो झन्डा देखाउनु त जघन्य अपराध नै भयो । तैपनि पञ्चायत फालेर के पाइयो भन्दा लाजै पचाएर बोल्न–लेख्न पायौँ भनेर भनिन्छ । यस्ता अदृश्य अभिव्यक्ति नियन्त्रण मन्त्रालयका अघोषित मन्त्रीहरूको मोरो काढ्ने कि उनीहरूको निर्देशनमा अभिव्यक्त भएर ज्याला खोज्ने ? सर्जकहरू कृपया कित्ताकाट गर्न थाल्नुस् स्वतन्त्रता कि नियन्त्रण ?