राखेपको सदस्य-सचिवमा झाको दाबी

राखेपको सदस्य-सचिवमा झाको दाबी


■ हेमशंकर सिंह, राजविराज

११ कक्षा पढ्दै गर्दा खेलकुदमा नै आफ्नो भविष्य खोज्न थालेका राजविराज नगरपालिका १ सप्तरीमा जन्मिएका अरविन्द कुमार झाले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा दाबेदारी पेस गरेका छन् । नेपालको राष्ट्रिय खेल कबड्डीमा २०५३ सालदेखि अर्थात १७ वर्षकै उमेरमा जिल्लास्तरीय, क्षेत्रस्तरीय र राष्ट्रिय स्तरका प्रतियोगिता समेत गरी ६ पटक उनी खेलिसकेका छन् ।

अन्तर्राष्ट्रिय कबड्डी नाइक कप प्रतियोगिता सन् १९९७ भारतमा, त्रिपुरा युवा क्लबद्वारा संचालित अन्तर्राष्ट्रिय कबड्डी १९९८ नेपालमा कास्यपदक विजेता, प्रथम एशियन जुनियर कबड्डी २००० भारतमा रजत पदक विजेता, तेस्रो एशियन कबड्डी च्याम्पियनसीप २००० श्रीलंकामा, नवौँ साफ गेम २००४ पाकिस्तानमा, दशौँ साफ गेम २००६ श्रीलंकामा समेत उनी सहभागी भइसकेका छन् ।

त्यस्तै गरी १२औँ साग गेम्स कबड्डी टिमको व्यवस्थापक भई भारतमा र १८औँ एशियन गेम्स कबड्डी टिमको व्यवस्थापक भई इन्डोनेसियामा समेत जिम्मेबारी पूरा गरी सफलता चुम्दै गरेका झा अखिल नेपाल कबड्डी संघको उपाध्यक्ष पदमा २०६६ मा, अखिल नेपाल कबड्डी संघको सचिव २०७१ मा, अखिल नेपाल कबड्डी संघको कोषाध्यक्ष २०७४ देखि हालसम्म जिम्मेवारी सम्हाल्दै आएका छन् ।

झाको राजनितिक करियर पनि खेलकुदसँगसँगै शुरु भएको देखिन्छ । ०५३ सालदेखि अनेरास्ववियुमा सक्रिय भई राजविराजको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा लागेका झा जनआन्दोलन २ मा सक्रिय सहभागी भई जेल जीवन समेत बिताएका छन् ।

हाल मदन भण्डारी स्पोर्टस् एकेडेमीको केन्द्रीय सदस्य रहेका झा नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको विश्वास पात्रको रुपमा समेत चिनिन्छन् ।