ऐतिहासिक कृष्णमन्दिर व्यापारीको कब्जामा

ऐतिहासिक कृष्णमन्दिर व्यापारीको कब्जामा


देशभर सरकारी, सार्वजनिक तथा गुठीका जग्गा व्यक्तिले हडपेको खबर एकपछि अर्काे गरी खुलासा भइरहँदा देशकै प्रमुख व्यापारिक केन्द्र न्युरोडस्थित ताम्राकार कम्प्लेक्स (मोबाइल हब)ले पनि ऐतिहासिक महत्व बोकेको श्रीकृष्ण मन्दिरस्थल हडपेर आफ्नो क्षेत्राधिकारभित्र पारेको रहस्य खुलेको छ । ताम्राकार कम्प्लेक्स प्रवेश गर्दै गर्दा दाहिनेतर्फ देखिने यो मन्दिर पाठकलाई लाग्दो हो, कम्प्लेक्सले नै धार्मिक सोचका साथ निर्माण गरेको हो । तर, वास्तविकता त्यसो होइन ।

स्थानीय केही प्रभावशाली व्यक्ति तथा पाको युथ क्लबका केही पदाधिकारीको मिलोमतोमा ताम्राकार कम्प्लेक्सले उक्त कृष्ण मन्दिरलाई आझ्नो विशाल भवनभित्र समेट्न सफल भएको हो । युगौँदेखि पुज्दै आएको आफ्नो आस्थाको मन्दिर व्यापारिक महलको कब्जामा पारिएकोमा स्थानीयवासी असन्तुष्ट छन् । एक स्थानीयले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने, ‘ताम्राकार कप्लेक्सको नक्सा कसरी पास भयो ? ऐतिहासिक मठमन्दिरलाई कसको स्वीकृतिमा महलभित्र पार्ने प्रपञ्च रचियो ?’

उनका अनुसार भवनभित्र मन्दिरलाई पार्नु एकातिर धार्मिक दृष्टिले ठीक होइन, अर्काे नक्सापास नै नहुनुपर्ने । यसमा कस–कसको मिलेमतो छ उनीहरूमाथि कारबाही हुनुपर्ने र अनियमित ढङ्गबाट निर्माण भएको उक्त कम्प्लेक्स नै भत्काउनुपर्ने स्थानीयवासीको माग छ । यद्यपि, निरीह स्थानीयले प्रभावशाली व्यवसायीका अगाडि मुख खोलेर बोल्न सकेको भने अवस्था छैन ।

स्मरणीय छ, उक्त मन्दिर विगतमा पाको युथ क्लबद्वारा संरक्षित थियो, तर मन्दिर रहेको उक्त क्षेत्र ताम्राकार कम्प्लेक्सभित्र पारिएपछि भने त्यसको संरक्षण तथा सम्वद्र्धन व्यवासायिक ढङ्गबाट अगाडि बढेको छ । समाचार स्रोतका अनुसार युथ क्लबका केही प्रभावशाली सदस्य तथा पदाधिकारीको पहलमा उक्त ऐतिहासिक मन्दिर व्यापारीको कब्जामा पुगेको हो ।