‘होचा’ नानीहरूका ‘अग्ला’ कथा





■ किशोर बुढाथोकी, सिन्धुपाल्चोक

१. नाम : मनीषा श्रेष्ठ
उमेर : १८ वर्ष
तौल : १९ केजी
उचाइ : साढे तीन फिट

२. नाम : रिना श्रेष्ठ
उमेर : २१ वर्ष
तौल : २६ केजी
उचाइ : साढे तीन फिट

त्यसो त इन्द्रावती गाउँपालिका ८ सिपापोखरेका यी दिदीबहिनीलाई आफ्ना सहयात्री र उमेरसरहका जस्तै आफ्नो पनि उचाइ र तौल भइदिए हुन्थ्यो जस्तो नलागेको भने होइन । अहिलेको यो चाहनाले त्यतिबैलेदेखि पूर्णता पाउन सकेन जतिबेला उनीहरूका अभिभावकले बढ्ने क्रममा उमेरअनुसारको शारीरिक बनावट पाएनन् ।

सबैले माया गर्छन्, कसैले पनि हेप्दैनन् उनीहरूलाई । तर, उनीहरूलाई अहिले अरू साथीजस्तै हुन पाएको भए भन्ने भान त्यतिबेला पर्छ जतिबेला जीवनमा आइपर्ने सामान्य काम गर्न अनि हिँडडुलमा समस्या पर्छ । र, बाटोमा अरूले गिज्याउँछन् ।

पछिल्लो समय यी दुई दिदीबहिनीलाई यस्तै समस्या आइपऱ्यो, उमेर पुग्दा पनि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा । श्रेष्ठ दिदीबहिनीलाई नागरिकता दिलाउनका लागि सनाखत गर्न उनीहरूका ठूलाबुबा गणेशबहादुरले प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतको टेबुलमा वडा सिफारिस ल्याए । ‘खोइ नागरिकता लिन आउने मान्छे बाजे,’ उनको प्रश्नसहितको जिज्ञासा सकिन नपाउँदै कुनातिरबाट आवाज आयो, ‘हामी यता छौँ ।’

एउटी बढीमा ७ वर्ष र अर्की त्यस्तै नौ वर्षजति देखिने दुईजना सँगै उभिरहेका । टिसर्ट र जिन्स पाइन्टमा आएका उनीहरूलाई अन्य सेवाग्राहीले पनि हेरे । कसैले फोटो खिचे । कसैले सेल्फीसमेत लिन भ्याए । प्रशासकीय अधिकृत बस्नेत अलमलमा परे । ‘नागरिकता लिने उमेर पुग्यो त ?, कति वर्ष भयौ नानीहरू,’ बस्नेतले सोधे । उनीहरूको उत्तर थियो, ‘१८ र २१ वर्ष ।’ नागरिकता सनाखत गर्न आएका श्रेष्ठले सबै कागजातसहित उनीहरूको उमेर पुग्ने देखिएपछि बस्नेत नागरिकता दिन तयार मात्र भएनन् आवश्यक सहयोगसमेत गरे ।

जन्मँदा सामान्य रूपमै जन्मिएका उनीहरू हुर्कँदै जाने क्रममा भने अन्य साथीहरूको तुलनामा बढ्न नसकेको ठूलोबुबा गणेशबहादुरले बताए । ‘उमेरअनुसार तौल र उचाइ कम देखिएपछि स्वास्थ्य जाँच पनि गरेका थियौँ,’ उनले रिना र मनीषाको अवस्थाबारे पुष्टि गर्दै भने, ‘तर, केही देखिएन, सबै ठीक छ ।’ उनले परिवारमा यी दिदीबहिनीको मात्रै यस्तो अवस्था रहेको सुनाए । बुबा हस्तबहादुर र आमा मनकुमारीको तीन सन्तानमध्ये उनीहरूका दाजुको तौल र उचाइ उमेरअनुसार ठीक छ । आमाबाबु पनि यिनीहरूजस्तो नभएको गणेशबहादुर बताउँछन् ।

०५५ सालमा जन्मिएकी रिना र ०५८ मा जन्मिएकी मनीषा दुवैको उचाइ साढे तीन फिट छ । प्रशासन कार्यालयमै नाप्दा पनि यति मात्रै देखियो । रिनाको तौल २६ केजी र मनीषाको तौल उमेरबराबर अर्थात् १९ केजी मात्रै छ ।

उचाइ कम भएकै कारण दुवै दिदीबहिनीले निकै सास्तीसमेत भोगेका छन् । ‘घरायसी कामकाज गर्न निकै समस्या हुन्छ, आफ्नो काम आफैँले गरौँ भन्दा उचाइले साथ दिँदैन,’ आफूसँगैका साथीहरू जस्तै हुन पाएको भए हुने भन्ने भान यतिबेला हुने बताउँदै दिदी रिना भन्छिन्, ‘खाना पकाउने बेलामा माथि राखिएका सामान, ग्यास अनि कपडाहरूको काम गर्दा निकै असहज हुन्छ ।’

अहिले यी दिदीबहिनीको बसोबास काठमाडौं छ । बजारमा हिँड्नेबेलामा यात्रीहरूले फर्की–फर्की हेर्ने गरेको उनीहरूलाई मन पर्दैन । ‘कसैकसैले हाँसेर उडाइदिन्छन्,’ बहिनी मनीषाले भनिन्, ‘केटी साथीहरूले नै हाँसेर उडाइदिन्छन्, त्यतिबेला भने नराम्रो लाग्छ ।’

‘गाडीमा चढ्न नै समस्या हुन्छ, कुनैकुनै गाडीमा ढोकाबाटै उक्लिन समया पर्छ,’ रिनाले भनिन् । घर वा विद्यालयमा माथि राखिएको सामान झिक्दा वा साथीहरूसँग हिँडडुल गर्दा असहज हुने गरेको उनले बताइन् ।

यस्तो छ अग्ला कथा

गाउँमा सँगैजस्तै जन्मिएका अन्य साथी ठूला भइसक्दा पनि उनीहरू जस्ताको तस्तै भए । र, पनि गाउँमा कसैले हेपेनन् । बरु सहयोग गरे । सँगैका साथीहरूको हातेमालो गर्दै उनीहरू विद्यालय गए । अरूसँगै अध्ययन गरे । अनि दुवैजनाले ०७३ मा सिपापोखरेस्थित राजेश्वरी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे । नागरिकता बनाउन ल्याएको सिफारिसमा राखिएको लब्धाङ्कपत्रमा दिदी रिनाको जीपीए २.२५ छ भने बहिनी मनीषाको २.०५ छ । ‘हाम्रो उचाइअनुसारको विद्यालयले छुट्टै बेञ्च र टेबुल बनाइदिएकाले हामीलाई निकै सजिलो भयो,’ दिदी रिनाले भनिन् ।

एसईईपछि उनीहरूको यात्रा मोडियो । उनीहरू काठमाडौंमा गएर पढ्ने भए । अहिले उनीहरूले पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयबाट यसै वर्ष कक्षा १२ को परीक्षासमेत दिइसकेका छन् । ‘हामी दुवैजना अहिले परीक्षा दिएर बसेका छौैँ,’ बहिनी मनीषा भन्छिन्, ‘राजेश्वरी स्कुलमा जस्तै कलेजमा पनि हामीलाई सहयोग भयो, छुट्टै बेञ्चमा बसेर सजिलो गरी पढ्यौँ ।’ उनले आफ्नो दिदीभिनाजुसँग काठमाडौंमा बस्दै आएको बताइन् । उनीहरूले पाटनमा दिदी पवित्रा र भिनाजु रामकुमार श्रेष्ठको साथमा बसेर उच्च शिक्षा अध्ययन गरिरहेका हुन् । ‘हामीलाई पढाउने र खाने खर्चबारे हामीलाई थाहा छैन, भिनाजुले नै सबै गर्नुहुन्छ,’ दिदी रिनाले बताइन् ।

होचा र कम तौल भएको भए पनि उनीहरूको इच्छा सग्लोको भन्दा पनि निकै अग्लो छ । उनीहरूको एउटौ स्वर छ– पाएदेखि हामी कलाकारिता गर्छाैं । उसो त रुचि नै कलाकारिता गर्ने यी दिदीबहिनीका लागि अफर भने नआएको होइन । उनीहरूका लागि आर्थिक स्रोत बाधक बनेर उभिदियो । ‘मोडलिङ गर्न अफर पनि आएको हो, तर भिडियो सुटिङको लगानी आफैँले गर्नुपर्छ भनेपछि छाडिदियौँ,’ दिदी रिनाले भनिन्, ‘हामीले त्यो सक्ने अवस्था थिएन ।’

सञ्चारकर्मीसँग कुरा गर्दै नागरिकताको काम सकिएपछि प्रमुख प्रशासकीय अधिकृत बस्नेत र नागरिकता शाखाका उत्तम पौडेलले उनीहरूलाई नागरिकता प्रदान गरे । जिल्ला प्रशासन कार्यालयमा नागरिकता दिँदै अधिकृत बस्नेतले उनीहरूको कलाकार बन्ने इच्छालाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । बस्नेतले होचापुड्का सङ्घबाट पाउने सुविधा, उनीहरूको गाउँपालिकका अध्यक्षसमेतलाई सम्पर्क गरेर सहयोग गरिदिन अनुरोधसमेत गरेका थिए ।

प्रतिक्रिया