प्रेम र विवाहबाहेक पनि यो देशमा मैले गर्नुपर्ने कुरा धेरै छन्

प्रेम र विवाहबाहेक पनि यो देशमा मैले गर्नुपर्ने कुरा धेरै छन्


तेस्रोलिङ्गी समुदायलाई प्रतिनिधित्व गर्ने नेतृ हुनुहुन्छ– पिङ्की गुरुङ । ब्लुडाइमन्ड सोसाइटीकी अध्यक्ष उहाँ राजनीतिकर्मीसमेत हुनुहुन्छ । प्रस्तुत छ, तेस्रोलिङ्गीका समस्या र आवश्यकताबारे घटना र विचारले गरेको कुराकानी :

■ तपाईंको पृष्ठभूमिबारे बताइदिनुस् न ?
– म तेस्रोलिङ्गी पिङ्की गुरुङ, ४१ वर्षकी भएँ । ०३५ सालमा लमजुङको बिचौर भुमलीचोकमा मेरो जन्म भएको हो । ममाथिका दुई दाजु एक वर्षको अन्तरालमा गाउँमै उपचार नपाएर बित्नुभएपछि मेरो बुबाले म र मेरी दिदीलाई काठमाडौं लिएर आउनुभयो, जतिबेला म ६ महिनाकी थिएँ । काठमाडौंमै हुर्किएँ । म जन्मिँदा छोरा भएर जन्मिएँ । १० वर्षको हुँदा मलाई आफू केटा होइनजस्तो लाग्यो । मलाई केटीले लाउने लुगा लाउन मन लाग्थ्यो । केटीजस्तो बनेर हिँड्न मन लाग्थ्यो । मैले त्यसअघि मजस्तो मान्छे देखेकी थिइनँ । परिवार, साथीभाइ सबै आफ्नै तालमा चलिरहेका थिए । कोही केटा थिए, कोही केटी थिए । तर, म को हुँ, मलाई नै थाहा थिएन । आफ्नै पहिचानको प्रश्नले म कति रात सुत्न सक्दिनथेँ, तर अनुत्तरित नै थिएँ । एसएलसीपछि जब एक दिन रत्नपार्क आएँ । मजस्तै मानिस भेटेँ, उनीहरूसँग कुरा गरेपछि मजस्ता अरू पनि रहेछन् जस्तो लाग्यो । तर, उनीहरूको हाउभाउ, बोलीचाली हेर्दा हिन्दी चलचित्रमा देखाउने गरेको हिजडा र छक्काका दृश्यहरूजस्तो लागेपछि म आफैँसँग डराएँ । सङ्गत बढ्दै जाँदा आफूले आफैँलाई सामान्य रूपमा लिन थालेँ ।

■ घरपरिवारमा कहिले र कसरी थाहा दिनुभयो ?
– धेरैपछि मात्र थाहा दिएँ, जतिबेला म २९ वर्षकी थिएँ । त्यसबीचमा केही घटना भएका थिए । मेरो फुपूकी छोरीसँग विवाहको कुरा सानैदेखि चलेको थियो । हामी गुरुङहरूमा मामाचेला, फुपूचेली विवाह गर्ने चलन छ । फुपूकी छोरी घरमा आएको बेला मलाई अप्ठ्यारो पथ्र्यो । उनले मलाई भावी दुलाहाको रूपमा हेरेकी थिइन् । बुबाआमा सबैले बुहारीको रूपमा हेर्नुभएको थियो । मेरो ब्रतबन्ध र विवाह एकैपल्ट गरिदिने कुरा भएपछि म सकसमा परेँ । जबर्जस्ती ब्रतबन्ध गरिदिनुभयो । मलाईचाहिँ गुन्युचोलो पो दिनुपर्ने जस्तो लागिरहेको थियो । विवाहचाहिँ मैले गर्न मानिनँ । म कसैको जिन्दगी मेरो कारणले बर्बाद होस् भन्न चाहन्नथेँ । महिला बन्ने प्रक्रिया भनेँ मेरो एक्कासि नभएर क्रमशः भयो । मैले हर्मोनहरू खाएर ब्रेस्ट बढाएँ, बिस्तारै कपाल बढाएँ, सोहीअनुरूपका कपडाहरू लगाएँ । त्यसबीचमा टम ब्वाईजस्तो गरी केही वर्ष हिँडेँ । बुबाआमालाई आफैँले सम्झाएँ ।

■ यौनिक अल्पसङ्ख्यकलाई लिएर कुरा गर्दा नेपाल स्वर्ग हो भन्छन्, किन होला ?
– नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको लागि स्वर्ग भनिन्छ भन्ने कुरामा मेरो अलिक विमति छ । थुप्रै कानुनी लडाइँ लडेपछि नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कुरालाई समेट्न सफल भयो । संविधानको धारा १२ ले पहिचानको अधिकार, धारा १८ ले समानताको हक र धारा ४२ ले सामाजिक न्यायको कुरामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे बोलेको छ । तर, व्यवहार र अभ्यास मा कार्यान्वयन र लागू हुन सकेको छैन । नागरिकता र पहिचानको हकमा संविधानले प्रस्ट रूपमा बोले पनि भर्खरै बनेको नागरिकता विधेयकमा नागरिकता लिन लिङ्ग परिवर्तन गर्नुपर्ने र मेडिकल सिफारिस चाहिने कुरालाई उल्लेख गरेको छ ।

समानताको हकमा संविधानले सम्बोधन गऱ्यो, तर राज्यका हरेक निकाय शिक्षा, स्वास्थ्य र रोजगारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समान अवसर पाउन सकेको छैन । लिङ्गका आधारमा विभेद गरिनेछैन भनेर संविधानमा उल्लेख गरे तापनि भर्खरै बनेको दिवानी र फौजदारी संहितामा केवल महिला र पुरुषबीच मात्र विवाह हुन सकिने कुराको उल्लेख गरेको छ । राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सवावेश गर्दै लैजाने भने पनि अल्पसङ्ख्यकको परिभाषामा हामीलाई नराख्दा चुनावी समयमा आफ्नो उम्मेदवारी दिने र स्थानीय सरकारको गठनका समयमा समावेशिता हुने अवसरबाट वञ्चित हुनुपऱ्यो । गरिबी निवारणको बजेट हामीले उपयोग गर्न पाइरहेका छैनौँ । बहुसङ्ख्यक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरूको पारिवारिक र सामाजिक जीवन विखण्डित भएको छ । शैक्षिक र आर्थिक अवस्था माथि आउन सकेको छैन । पहिचान मात्र होइन, त्यससँग जोडेर आएको अरू अधिकारहरू अझै हामीले पाउन सकेको छैन । हाम्रो सम्पूर्ण अधिकारलाई स्वतन्त्रपूर्वक उपयोग गर्न पाइरहेका छैनौँ ।राज्यस्तरबाट जुन रूपमा यस मुद्दालाई उठाइनुपर्ने र संरक्षण गर्नुपर्ने हो त्यहीअनुरूप हुन सकेको छैन ।

■ लैङ्गिक अल्पसङ्ख्यक भन्नाले के–केलाई बुझ्ने, कसरी बुझ्ने ?
– जैविक लिङ्गभन्दा विपरीत सामाजिक लिङ्ग बनाएर बस्ने र समाजमा बहुसङ्ख्यक रूपमा देखेको र समाज चलाइरहेका पुरुष र महिला लिङ्गभन्दा फरक अनुभूति गर्ने र महिला र पुरुष अनि ट्रान्स जेन्डर र तेस्रोलिङ्गीभन्दा पनि कुनै लैङ्गिक परिधिभित्र राख्न नचाहने समुदायहरू लैङ्गिक अल्पसङ्ख्यकभित्र पर्छ ।

■ तपाईंहरूको सङ्ख्या कति छ नेपालमा ?
– बडो दुःखका साथ भन्नुपर्छ कि सरकारले अहिलेसम्म हाम्रो समुदायको जनगणना गर्न सकेको छैन र यो त्यति सजिलो पनि छैन । गणना गर्न चाहे पनि सामाजिक र पारिवारिक अस्वीकार्यताका कारण लुकेर बस्ने समुदायको सङ्ख्या ठूलो भएकाले वास्तविक तथ्याङ्क आउन गाह्रो छ । तर, हाम्रो अध्ययनको अनुमानबमोजिम नौ लाखको हाराहारी छ भन्दै आइरहेका छौँ ।

■ तपाईंले त चुनाव पनि लड्नुभएको होइन ? चुनावी अनुभव कस्तो रह्यो ? अहिले पनि राजनीतिमा हुनुहुन्छ ?
– हो, म गत चुनावमा प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्ति पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारमा उठेकी थिएँ । यो नेपालको तेस्रोलिङ्गीहरूको राजनीतिक इतिहासमा पहिलोपटक थियो । विशुद्ध सामुदायिक अभियन्ताको पृष्ठभूमिबाट आएकी मलाई राजनीतिक उम्मेदवारीले ठूलो राजनीतिक पाठ सिकायो । यो केवल मेरा लागि मात्र थिएन, मेरो सम्पुर्ण समुदायको प्रतिनिधिको उदाहरणको रूपमा थियो । सिङ्गो नेपाल चुनावमय भइरहेको बेलामा मेरो उम्मेदवारीले सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा थप ऊर्जा, उत्साह र उमङ्ग थपिएको थियो अनि केही राजनीतिक र सामाजिक परिवर्तनको आभास पनि भएको थियो । तेस्रोलिङ्गी समुदायलाई जुन समाजले हेयभावले हेर्ने गथ्र्याे र केही गर्न सक्दैन र समाजका लागि बेकार छ भन्ने सोच आमाहरूको लागि एउटा सशक्त उदाहरण थियो ।

चुनावको बेला घरदैलो कार्यक्रम गरेँ । विशेषगरी काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा केन्द्रित भएर काम गर्दा धेरैले स्वागत गरे, खुसी भए । मेरो राजनीतिक जीवन केवल मेरो लागि मात्र होइन । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र राजनीतिक जागरण ल्याउनका लागि भएको हुँदा थुप्रै समुदायका साथीहरू राजनीतिक सचेतना बढेको छ । म अहिले पनि राजीनामा छु र भोलि पनि रहिरहनेछु र समुदायको राजनीतिक अधिकारको आवाज उठाइरहनेछु ।

■ तपाईंहरूको माग के–के हो ?
– सामान्य नागरिकले जुन अधिकार पाउँछ त्यहीसरहको अधिकार पाउनुपर्छ, भन्ने हाम्रो माग हो जुन हामीले पाइरहेका छैनौँ । अस्तित्व र पहचानको अधिकार, समावेशी र समानताको अधिकार संविधानको कार्यान्वयन सम्पूर्ण मौलिक हकअधिकार समान वैवाहिक अधिकार शिक्षा, स्वास्थ्य, रोजगारको अवसर, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक कानुनी अधिकार, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय आयोग, सामाजिक न्याय, संरक्षित वातावरण र सामाजिक स्वीकार्यता, समुदायको वृत्ति विकासका लागि आवश्यक नीति योजना र बजेट ।

■ तपाईंहरूको समुदायमा हुने विवाह र सम्बन्धविच्छेदको अवस्था के छ ?
– ९५५ भन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू पारिवारिक दबाब र कानुनी अभावका कारण विपरीतलिङ्गीसँग बिहे गर्न बाध्य छन् । पारिवारिक अस्वीकार्यता र सामाजिक मान्यताको अभावले घरपरिवारमा खुल्न सक्ने अवस्था छैन । त्यसैले पनि आफ्नो प्रकृति, आफूले चाहेको र आफ्नो आकर्षणबमोजिमको सम्बन्ध स्थापित गर्न सकिरहेको छैन । हाम्रो भौगोलिक र जातीय सामाजिक मूल्यमान्यता र परम्पराका कारण धेरै समुदायका साथीहरूले आफ्नो जीवनको इच्छा–चाहनाहरूलाई बलिदान दिएर आफ्नो प्रकृतिविपरीत जिन्दगी जिउन बाध्य छन् ।

नेपालमा वैवाहिक बलात्कारले मान्यता पाएको छ, तर समान वैवाहिक कानुनी र सामाजिक मान्यताको अभावले हाम्रो समुदाय हरेक रात आफ्नो इच्छाविपरीतको सम्बन्धबाट बलात्कृत भइरहेका छन् । फलस्वरूप थुप्रै समुदायका साथीहरूमा मानसिक समस्याहरू छन् । प्रजनन, स्वास्थ्य र अन्य शारीरिक समस्याहरू आउने गर्छ ।

धेरैले आत्महत्या गरे । धेरै डिप्रेसनमा गएका छन् । डिप्रेसन र आत्महत्याको सङ्ख्या बढ्दै गएको छ । आफ्नो जीवनलाई आफ्नो प्रकृतिबमोजिम स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न नपाउँदा धेरैको जिन्दगी बर्बाद हुँदै गइरहेको छ । यसले पारिवारिक, सामाजिक र आर्थिक समस्या उब्जाइरहेका छन् । जसले सामुदायिक र सामाजिक, पारिवारिक विकृतिको जन्म भइरहेको छ । त्यसैले हामीले देश विकास र समृद्धिका लागि र सभ्य र समावेशी समाज निर्माणका लागि समान वैवाहिक अधिकारका आवाजलाई उठाइरहेका छौँ ।

समलिङ्गी विवाहको कानुनी अधिकार नभए तापनि धेरै समुदायका साथीहरू आफूले रोजेको व्यक्तिसँग सँगै बस्दै आइरहेका छन् । न त्यो सम्बन्धले कानुनी मान्यता पाएको छ न सामाजिक स्वीकार्यता । अन्योलको अवस्थाका कारण सम्बन्ध दिगो र विश्वासिलो बन्न सकेको छैन । आफ्नो निहित स्वार्थ लुट्न र फाइदा लिनका लागि झुटो माया गर्नेहरूबाट हाम्रो साथीहरू निकै प्रताडित भएका छन् । कैयौँको श्रीसम्पत्ति जायजेथा खाइदिएर सडकको बास भएका छन् र धेरै साथीहरू अझै सम्बन्धमा बसिरहेका छन्, तैपनि नेपालको कानुन हाम्रो वैवाहिक अधिकारका लागि मौन छ । संविधानको धारा १८ मा समानताको हक उल्लेख गरे तापनि दिवानी र फौज्दारी ऐनमा विवाहको हकमा महिला र पुरुषबीच मात्र हुन सकिनेछ भनी संविधानसँगै बाझिने कानुन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाहको अधिकारमा ठूलो प्रश्नचिह्न उभिएको छ ।

■ तपाईंहरू आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? तेस्रोलिङ्गी या अरू नै केही ?
– म आफ्नो लैङ्गिक पहिचान तेस्रोलिङ्गी नै भन्न चाहन्छु । एलजीबीटीआईको अभियानसँगै यही शब्द प्रख्यात भएको छ । संविधानदेखि नेपालको विभिन्न नीतिनियम र दस्तावेजहरूमा पनि यही शब्द उल्लेख हुँदै आएको छ । आमजनताको जनबोलीमा पनि अभ्यस्त भइसकेको छ । तर, कसैले तेस्रोलिङ्गी भन्न चाहँदैन र अन्य कुनै नामकरण गर्न चाहन्छ भने पनि त्यसलाई हामीले स्वागत गर्नुपर्छ । व्यक्तिगत स्वतन्त्रता सामूहिक र सामुदायिकमा मात्र सीमित हुनुहुँदैन ।

■ तपाईंको वैवाहिक या सम्बन्धको अवस्थाबारे बताउन मिल्छ ?
– अहिले म सिङ्गल महिला हुँ । मेरो विवाह भएको छैन र म कुनै प्रेम–सम्बन्धमा पनि छैन । आफूलाई सम्मान र माया गर्ने, समाजमा शिर ठाडो गरेर मलाई पत्नी स्वीकार्न सक्ने, भविष्यमा केही परे कानुनी र भावनात्मक लडाइँमा मसँगै हुने, बाहिर एउटा भित्र अर्को रूप नभएको र मलाई जस्ताको तस्तै स्वीकार गर्न सक्ने पुरुष पाएमा विवाहको लागि सोच्न सक्छु । नत्र प्रेम, विवाह र बच्चाबच्ची पाउनका लागि मात्र मानिसको जन्म भएको होइन भन्ने कुरा मलाई थाहा छ । मानवका रूपमा यो देशमा मैले गर्नुपर्ने कुरा धेरै छन् ।