‘मेरो खुसी १३औँ सागको ‘स्वर्ण’मा अड्किएको छ’ : आकृति

‘मेरो खुसी १३औँ सागको ‘स्वर्ण’मा अड्किएको छ’ : आकृति


■ श्रीविक्रम भण्डारी

‘जुडो’ खेल कुन चरीको नाम हो उनलाई पत्तो थिएन । नयाँ वर्ष मनाउन बहिनी प्रकृति जोशीको घरमा पुग्दा उनलाई जुडो खेलबारे जानकारी प्राप्त भएको थियो । उनको शारीरिक बनावट देखेर जुडोका राष्ट्रिय खेलाडी राजन जोशीले उनलाई जुडो खेल्न सुझाएका थिए । राजनले सुझाव दिँदा टाउको मात्र हल्लाएकी उनको त्यसपछि जुडोप्रति चासो जागेको थियो । जुडो खेल कस्तो हुन्छ, कसरी खेल्छन् र नीति–नियमहरू कस्तो हुन्छ, त्यो उनको लागि खुल्दुलीको विषय बनेको थियो । त्यसपछि ठूलो आँट साहस जुटाएर उनी जुडो प्रशिक्षणस्थल दशरथ रंगशाला हानिएकी थिइन् । ती जुडो खेलप्रति त्यतिबेलाकी अनभिज्ञ र यतिबेलाकी चर्चित राष्ट्रिय खेलाडी हुन्– आकृति जोशी ।

भर्खरै एसएलसी पास गरेर प्लस टु अध्ययन गर्ने सुरसार गर्दै गरेकी आकृतिले ०६८ सालदेखि जुडो खेल्न थालेकी हुन् । अनुभव बटुल्न एक साताको लागि प्रशिक्षणमा होमिएकी आकृति प्रशिक्षण गर्दागर्दै जुडो खेलप्रति आकर्षित भइन् । एक साताको प्रशिक्षण गएकी आकृति त्यसपछि जुडोमा रमाउन थालिन् अर्थात् उनलाई जुडो मन पर्न थाल्यो । त्यसपछि आकृति नियमित प्रशिक्षण गर्न थालिन् । तर, त्यसबेला परिवारको सपोर्ट नहुँदा आकृतिले जुडोको प्रशिक्षण लुकेर गर्नुपरेको थियो । परिवारमा खेलकुद बुझेको व्यक्ति नहुँदा आकृतिले आफ्ना अभिभावकहरूलाई मनाउन ठूलै सङ्घर्ष गर्नुपरेको थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझँै आकृतिले आमा लक्ष्मीदेवी जोशीलाई मनाउन सफल भइन् । त्यसपछि आकृतिले लुकेर होइन खुलेर जुडोको प्रशिक्षण गर्न पाइन् । जसले अहिले आकृतिलाई जुडोको प्रतिभाशाली खेलाडीको रूपमा परिचित गराएको छ ।

आकृतिले जुडोको प्रशिक्षण गर्दा प्रशिक्षक वीरेन्द्र रञ्जितका आँखा उनीमाथि परेका थिए । तिनै प्रशिक्षक रञ्जितले तिमीले भविष्यमा राम्रो गर्न सक्छौ भन्दै प्रोत्साहन गरेपछि आकृतिले रञ्जितकै प्रशिक्षण जुडोको प्रशिक्षणमा दत्तचित्त भएर लागिन् । प्रशिक्षणको समयमा आकृतिले गरेको मिहिनेत देखेर अन्य प्रशिक्षकहरूले पनि उनको खुलेर प्रशंसा गर्दै प्रशिक्षणमा सघाएका थिए । जुडोका प्रायः सबै प्रशिक्षकको प्रशिक्षण र मार्गदर्शन पाएपछि आकृतिले ६ महिनापश्चात् जुडोको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाइन् । आकृतिले पहिलो प्रतिस्पर्धा निकोस जुडो प्रतियोगितामा गरेकी थिइन् । उक्त प्रतियोगितामा ७८ केजी प्लसमा प्रतिस्पर्धा गरेकी आकृतिले आफ्नो पहिलो सहभागितामै रजत पदक जितेर जुडोको उदीयमान खेलाडीको रूपमा आफूलाई चिनाउन सफल भइन् । त्यसको केही समयपश्चात् आयोजना भएको अम्बिकाबहादुर क्षेत्री जुडो च्याम्पियनसिपमा पनि रजत पदक जितेपछि आकृतिको लोकप्रियता चुलिएको थियो ।

सन् २०१६ को राष्ट्रिय छनोटमा दोस्रो र सोही वर्ष आयोजित राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेकी आकृतिले सोही वर्ष दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को छनोट खेलमा प्रथम स्थान हासिल गरेपछि जुडोमा उनको चर्चा निकै चुलिएको थियो । तर, विडम्बना ! भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औँ सागमा आकृतिको तौल समूहको स्पर्धा नराख्दा उनी साग खेल्नबाट वञ्चित हुनुपऱ्यो । निकै मिहिनेत र पसिना बगाएर सागको लागि छनोट भए पनि अन्तिम समयमा खेल्न नपाउँदा आफूलाई निकै कुठाराघात भएको आकृतिको कथन थियो । यदि १२औँ साग खेल्न पाएको भए आफूले राष्ट्रलाई कम्तीमा पनि रजत पदक दिलाउने आकृतिको दाबी थियो । आफ्नो तौल समूहमा भारत मात्र आफ्नो प्रतिस्पर्धी भएको बताउने आकृतिले अन्यलाई सहजै पाखा लगाउन सकिने थियो । तर, भाग्यले साथ दिएन, म यसमा कसैलाई दोष दिन्नँ, खालि के मात्रै भन्न चाहन्छु भने यदि मैले खेल्न पाएको भए पदक भने पक्का थियो । १२औँ सागमा सहभागिता जनाउन नपाए पनि भारतको भोपालमा दुई महिना राष्ट्रिय टिमसँगै रहेर प्रशिक्षण गर्न पाएकी थिइन् ।

सन् २०१७ र २०१८ आकृतिका लागि अविष्मणीय रह्यो । उनले यी दुई वर्षमा आफ्नो प्रदर्शनमा निकै सुधार ल्याउँदै जुडोमा वर्चश्व नै कायम गरिन् । विराटनगरमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रजत पदक जितेर शुभारम्भ भएको उनको यात्रा हालै प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर टुङ्गिएको थियो । त्यसबीचमा आयोजना भएका जुडोका तीनवटा अम्बिकाबहादुर, ओलम्पिक डे जुडो, राखेप च्याम्पियनसिपमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल भइन् । यो आकृतिको खेलजीवनको सबैभन्दा सफल पाटो बन्यो । हरेक जुडोका राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेर आफूलाई जुडोको उत्कृष्ट खेलाडी मात्र नभई अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेलाडीको रूपमा समेत उभ्याउन सफल भइन् । त्यस्तै यही समयमा नेपालमा आयोजना भएको दक्षिण एसियाली अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा पहिलोपटक अन्तर्राष्ट्रिय पदक जितेर आकृतिले अन्तर्राष्ट्रिय पदकको खाता पनि खोलेकी थिइन् । आकृति यो प्रतियोगितामा सेमिफाइनलमा भारतकी खेलाडीसँग पराजित भएकी थिइन् । आकृतिले आफ्नो आठ वर्षीय खेलजीवनमा अहिलेसम्म विदेशमा गएर जुडो खेलमा प्रतिस्पर्धा गर्न पाएकी छैनन् ।

प्रशिक्षण गर्दा राम्रो गर्ने तर प्रतिस्पर्धामा उत्रिँदा डराउने अर्थात् नर्भस हुने आकृतिको बानी उनको खेलजीवनको सबैभन्दा कमजोर पाटो हो । उनको यो बानीले गर्दा थुुप्रैपटक उनले प्रशिक्षकबाट डाँट खानुपरेको थियो । पछि यसलाई जसरी पनि सुधार्नुपर्ने चुनौती आएपछि आकृतिले सविन महर्जन (योगा गुरु) सहयोग लिइन् । त्यसपछि उनको यो कमजोरीमा विस्तारै सुधार आउनुको साथै अहिले पूर्ण रूपमा मुक्त भएकी छिन् । योगाकै कारण आफूले क्रमिक रूपमा उत्कृष्ट प्रदर्शन गरिरहेको उनको दाबी छ । आकृतिले भनिन्, ‘आफ्नो लक्ष्य भनेकै नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सर्वप्रथम स्वर्ण पदक जित्ने हो । त्यसपछि एसियाली खेलकुद प्रतियोगिता, ओलम्पिक खेलकुद र वल्र्ड च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्नु हो ।’ साथै आफूले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव गर्न नपाएको र ती प्रतियोगितामा प्रतिस्पर्धा गरेपछि आफ्नो खेल र मनोविज्ञानमा निकै सुधार आउने आकृतिको कथन थियो ।

लगनशीलता, मिहिनेत र अनुशासनकै कारण आफू अहिलेको अवस्थामा पुगेको र उत्कृष्ट नतिजा दिन सफल भएको बताउने आकृतिले आफूले पहिलोपटक अम्बिकाबहादुर जुडो च्याम्पियनसिपमा स्वर्ण जित्दा निकै खुसी भएको र यो स्वर्ण जित्दाको क्षण आफ्नो जीवनको अविष्मणीय क्षण भएको आकृतिले बताइन् । त्यस्तै आठौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दा खुसी लागे पनि मनदेखि खुसी हुन नसकेको आकृतिले रहस्योद्घाटन गरिन् । आठौँ राष्ट्रियमा आफूले पहिल्यै स्वर्ण पदक जित्छु भन्ने थाहा भएकोले जति खुसी हुनुपर्ने हो, त्यति हुन नसकेको बताइन् । म साँच्चिकै खुसी त्यतिबेला हुनेछु, जतिबेला १३औँ सागमा स्वर्ण पदक जित्नेछु । नेपाली सेनाको तर्फबाट खेल्दै आठौँमा स्वर्ण पदक जितेकी आकृति यतिबेला १३औँ सागको तयारीको लागि बन्द प्रशिक्षणमा छिन् ।