शम्भुको भाकामा प्रकाश र अन्जलीले गलबन्दी भिरेपछि…

शम्भुको भाकामा प्रकाश र अन्जलीले गलबन्दी भिरेपछि…


■ राजन घिमिरे

पछिल्लो समय नेपाली गीत–संगीतमा चोरीको श्रृङ्खला बढ्दो छ । एकातिर नयाँ प्रविधिले गीत–संगीतको विकास र विस्तारमा टेवा दिइरहेको छ भने अर्कोंतर्फ अरूको सृजनामा हालीमुहाली गरेर रातारात बजार तताउनेहरूको बिगबिगी पनि बढिरहेको छ । त्यो र यो ट्यूनिङ फरक छ भन्ने तर्क दिएर सिर्जना हुबहु उतार्ने अनि प्रविधिको अनुचित फाइदा लिँदै अरूको मूल सिर्जनामा एउटा बाजा चुस्स छिराएर यो बाजा थियो त त्यो गीतमा भन्ने कुतर्क गर्दै खान पल्किएकाहरूको सोच र स्तर पनि बजारमा छरपस्टिएको छ ।

प्रसङ्ग वरिष्ठ गायक शम्भु राईको गीतको भाका अर्का गायक प्रकाश सपुतले नक्कल गरेर गलबन्दी बोलको गीत बनाएको विषयको हो । जसले जीवनभर गीत–संगीत बाहेक केही सोचेन, कुना–कुनामा गएर गीत–संगीत खोजेर ल्यायो र जन–जनमा पुऱ्यायो, आज तिनै गायक शम्भु राई मेरो गीत चोरी भयो, मेरो सृजनाको नक्कल उतारेर बजार पिटाउने काम भयो भनी दुखित भावमा न्यायको भीक मागिरहेका छन्, उता शम्भुकै गीतको भाका टपक्क टिपेर गलबन्दी गीत गाएर सर्जक भन्न रूचाउने प्रकाश सपुतहरू गीत–संगीतको ‘सच्चा’ हिमायती बनिरहेका छन् ।

यसरी आफ्नो अगाडि आफ्नै सन्तानको हत्या भएको देख्दा कुन अभिभावक चुप लागेर बस्न सक्छ ? त्यस्तै अवस्थामा परेका छन् शम्भु राई यतिबेला, र त उनी बोल्न बाध्य भएका हुन् ।

गलबन्दी बोलको गीत चोरिएको हो भन्ने कुरा त्यसका मूल सर्जक शम्भु राईले हात जोडेर अनुनय विनय गर्नुपर्ने ? घाँटीको नशा फुलाई–फुलाई चिच्याउनु पर्ने ? हारगुहार गर्नुपर्ने ? तर, त्यही सृजनाको बुई चढेर आफूलाई सेलिब्रेी ठान्ने प्रकाश सपुतले एकपटक पनि शम्भु राईको गुनासो सुन्ने प्रयास नगर्ने ? नेपाली गीत–संगीत क्षेत्रमा यस्तो बबण्डर मच्चिंँदा पनि सपुत पटक्कै हल्लिएका छैनन् । मान्नैपर्छ, उनको नेपाली गीत–संगीत र सृजनाप्रतिको समर्पणलाई ! भनिन्छ नि, सुतेकोलाई उठाउन सजिलो हुन्छ तर सुतेको जस्तो गर्नेलाई उठाउन गाह्रो हुन्छ ।

लोकगीत कसैको पेवा हुँदैन भन्ने वाहियात तर्क दिएर पन्छन खोज्ने सपुतले पुराना सर्जकले खनेको बाटोमा हिँड्दा किन उनीहरूले नेपाली गीत–संगीत क्षेत्रमा पुऱ्याएको योगदान, त्याग र समर्पणको हिसाब गरेनन् ? उसोभए अब किन नयाँ गीत–संगीत सृजना गर्नुप¥यो र ? लोकगीत–संगीत कसैको पेवा हुँदैन भने राम थापा, पाण्डव सुनुवार, कुमार बस्नेत, जयनन्द लामा जस्ता हस्तीहरूको भाका र संगीत चोर्ने अनि रातारात हिट भैहालिन्छ नि ? बेकारमा किन दुःख गरिरहने ? कि कसो ?

नेपाली गीत–संगीतको एउटा हस्ती, गीत–संगीतका स्रष्टा शंभु राई हारगुहार गरेर हिँडेका छन् तर उता बजारमा केही नभएजस्तो र गीत हिट भयो भनेर दङ्ग पर्दै प्रकाश सपुत गलबन्धी ढल्काएरै शानका साथ अन्तरवार्ता दिएर सेलिब्रेटी बनिरहेका छन् । प्रकाशबाट शम्भु राईप्रति सम्मानको कुरा त परै जाओस् मुलुकको एउटा स्रष्टाले मेरो सृजना चोरियो भनेर बारम्बार कराउँदा पनि सपुतबाट राईप्रति केही शब्द खर्चिएको देखिएन ।

यति मात्र नभई उक्त गीतमा मोडलिङ गर्ने नृत्याङ्गना अन्जली अधिकारीले गीत चोरिएको होइन भनेर निकै जान्ने–बुझ्ने बनी मिडियामा प्रतिक्रिया दिँदैछिन् । उनको यो अभिव्यक्तिले उनको करिअरमा दीर्घकालीन रूपमा कति असर पर्छ– उनले सोच्न सकेकी छैनन् । मिडियामा छाइने लोभमा उदाउँदी यी कलाकारले शम्भु राई र उनको सृजनालाई कत्तिको चिनेकी छिन् ? शम्भु राईको नेपाली गीत–संगीतप्रतिको त्याग र निरन्तरताको बारेमा कत्तिको जानकार छिन् ? गीतमा नाचेको भरमा वरिष्ठ कलाकारको अवमूल्यन गर्न मिल्छ अन्जली जस्ता आलाकाचा कलाकारले ?

यसरी अहिले वास्तबिक सर्जकहरू छायामा पर्ने वा पारिने यात्रा जारी नै छ । कोही भाका चोरेर आफूलाई सर्जक ठान्छन् त कोही कभर गाएर हिट भएँ भन्दै दङ्ग पर्छन् । अरूको हिट गीतमा केही आधुनिक बाजा थपेर कभर गायक बन्ने तर स्टेजमा त्यही गीत गाउँदा वास्तबिक सर्जकको नाम लिन हिच्किचाउने र लिंँदै नलिने जस्ता अभद्र तथा अब्यावसायिक संस्कारको बिकास गर्दै अहिलेका पिँढी कुन बाटो हिँड्न खोजिरहेका छन् ? चिन्ताको विषय बनेको छ ।