प्रधानमन्त्रीलाई सकस पर्दा मुस्कुराए प्रचण्ड र माधव

प्रधानमन्त्रीलाई सकस पर्दा मुस्कुराए प्रचण्ड र माधव


पार्टीका जिम्मेवार नेताहरू नै केपी ओलीविरुद्ध सक्रिय रहेको र केपीलाई सङ्कट आइपर्दा अन्य नेताहरूलाई प्रसन्नता मिल्छ भन्ने सङ्केत मंगलबार (असार ३ गते) पनि देखियो । केही बोल्नका लागि बोलाइएका प्रधानमन्त्री रोस्ट्रममा उभिइरहँदा प्रतिपक्षी काङ्ग्रेसका सांसदहरूले नाराबाजी शुरु गरे । प्रधानमन्त्रीभन्दा पहिले नै आफूहरूले बोल्न पाउनुपर्छ भन्ने माग काङ्ग्रेस सांसदहरूको थियो ।

तर, प्रधानमन्त्रीले बोलिसकेपछि मात्र विपक्षीलाई बोल्न दिइने भनी सभामुखले गरेको आग्रहलाई काङ्ग्रेसले सुनेन । केहीबेर प्रधानमन्त्री रोस्ट्रममै उभिइरहे र नाराबाजी चलिरह्यो । त्यसरी नाराबाजी शुरु भएपछि त्यहाँ सँगै बसिरहेका प्रचण्ड र माधवकुमार नेपालले प्रसन्नता रोक्न सकेनन् ।

रोक्न खोज्दाखोज्दै पनि प्रचण्ड र माधवका अनुहारमा खुसी छचल्किएको उनीहरूलाई देख्ने जोकोहीले महसुस गर्न सक्थे । उनीहरू घर न घरि एक–अर्कालाई हेरेर मुस्कुराउँथे । उनीहरूको मुस्कुराहटकै बीच सभामुखले बैठक स्थगित भएको घोषणा गरिदिए । प्रधानमन्त्री रोस्ट्रमबाट ओर्लिए, प्रचण्ड र माधव नेपाल आपसमा मुखामुख गर्दै मुस्कुराए र बैठक कक्षबाट बाहिरिए । मंगलबार संसदमा देखिएको यो दृश्यले पनि नेकपाभित्रको वैमनुष्यताको सङ्केत दिएको महसुस यो दृश्य देख्ने सबैले गरेका छन् ।