‘जो जिता वही चौकीदार’

‘जो जिता वही चौकीदार’


■ दिवाकर बागचन्द, न्यूयोर्क

नरेन्द्र भाइ मोदीले सपथ लिएको कारिव एक महिना पुग्न लाग्यो । पंक्तिकारले उनको चुनावीसभा र ऱ्याली अवलोकन गरिरहेको थियो । मोदी चुनावअघि नै विजेता भइसकेका थिए । जब प्रतिपक्ष कमजोर हुन्छ राजनीतिमा यस्तो दृश्य देखिन्छ ।

प्रतिपक्षको शक्ति संसदमा उसका कति सांसद छन् भन्नेमा नभई उसले उठाएका मुद्दा र जनतासँग उसको सामीप्यतामा निर्भर गर्छ । यसपटक भारतको प्रतिपक्ष इतिहासकै सबभन्दा कमजोर देखियो । भारतीय जनतासँग विकल्प थिएन । फलस्वरुप पुनः नरेन्द्र मोदी र उनको पार्टीलाई अभूतपूर्व जित हासिल भयो ।

भारतको यस चुनावको विश्लेषण भरपुर मात्रामा भयो । सायद पुस्तक पनि लेखिनेछ । म दिमागले भन्दा मेरो आत्माको आवाजलाई सुन्छु । त्यसैले चुनावभन्दा यस चुनावमा प्रयोग भएका शब्दावलीको अर्थ खोज्नेतर्फ लागेँ ।

सन् २०१९ को लोकसभा चुनावमा केही शब्दावलीले जनताका मुद्दाभन्दा बढी प्रमुखता पाए । चुनाव प्रचारको दौरान आम आदमी पार्टीकी नेतृ अल्का लाम्बाले नेपालीहरु चौकिदार हुन् भन्ने अभिब्यक्ति दिएपछि नेपाली मात्र नभई भारतीय नागरिकहरूले पनि विरोध जनाए । अन्ततः लाम्बाले माफी मागिन् ।

मोदीले यसविपरीत आफ्नो नामको अघिल्तिर ‘चौकीदार’ विशेष लेखिदिए । उनलाई पछ्याउँदै उनका समर्थकलगायत धेरैले ‘चौकीदार’को पदवी भिरे । भारतमा चौकीदार शब्दले आन्दोलनको रुप लियो । चौकीदार एउटा शक्तिशाली पहिचान बन्न पुग्यो, जसले मोदीको चातुर्य र नेतृत्व शैली प्रष्ट पाऱ्यो- ‘जो जिता वही चौकीदार’।

अब आगामी दिनमा मोदीले आफूलाई चौकीदार सावित गर्न निम्न गुण प्रदर्शित गर्नुपर्ने छ-

सतर्कता :
एक राजनेताले सम्पूर्ण मानव जातिको हितका लागि सतर्कता अपनाउनु पर्छ ।

इमान्दारी :
चौकीदार र इमानदारी एकअर्काका पर्याय हुन् । इमान्दरी बिना कोही चौकीदार बन्न सक्दैन ।

स्वास्थ्य :
स्वस्थ शरीर र दिमाग भएको नेताले मात्र सही निर्णय गर्न सक्छ ।

सम्वाद :
चौकीदारीको अर्को अहम पक्ष हो स्पष्ट सम्वाद ।

सेवा :
चौकीदारले आफ्नो ज्यानको परवाह नगरी सेवा दिनुपर्छ ।

नरेन्द्र मोदीले आफ्नो दोश्रो कार्यकालमा माथि उल्लेखित गुणलाई शासन पद्धतिमा लागु गर्न सके भने चौकीदार शब्दले सार्थकता पाउने छ । यस उपमहाद्वीपको राजनीतिले नयाँ उचाइ पाउने छ । चौकीदार शब्दलाई सार्थकता दिन मोदीको विकासको मोडलले सामाजिक न्यायलाई मन्त्रको रुपमा लिनुपर्ने छ । यसो भयो भने विश्वमा थुप्रै चौकीदार जन्मिने छन् । यतिबेला अमेरिकामा रहेको यो साधारण नेपालीलाई पनि नेपाल आमाको चौकीदार हुँ भन्न कुनै लघुताभास हुने छैन ।