साढे अठार केजी अफिमसहित पाँच पक्राउ

साढे अठार केजी अफिमसहित पाँच पक्राउ


नेपालगन्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । बुधबार बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले लागूऔषधसहित कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागूऔषध अफिम पक्राउ गरेको पुष्टि गरे । आजै (बुधबार) साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत अभियुक्तहरूलाई सार्वजनिक गरिने उनले बताए ।

पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन् ।