राष्ट्रिय टीम तयारीका निर्देशक गुरुङको विदाई

राष्ट्रिय टीम तयारीका निर्देशक गुरुङको विदाई


राष्ट्रिय टिम तयारीका निर्देशक ध्रुवबहादुर गुरुङ उमेर हदका कारण राष्ट्रिय खेलकुद परिषदबाट सेवानिवृत्त भएका छन् । गुरुङलाई असार २ गते सोमबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदले औपचारिक रुपमा बिदाई गरेको हो ।

२०५२ सालमा प्रशिक्षकको रुपमा परिषद् प्रवेश गरेका गुरुङ ०६३ मा द्वित्तीय श्रेणीमा बढुवा भएका थिए । ०७५ चैत्रमा राष्ट्रिय टिम तयारीको उपनिर्देशक भएका उनलाई २०७३ जेष्ठ १३ गते निर्देशकको रुपमा पदोन्नति मिलेको थियो । आफ्नो कार्यकालमा विभिन्न जिल्लामा रही उनले तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पुऱ्याएका थिए ।

गुङलाई बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य शान्ति सिंहले स्वतः अवकाशको सीमाका कारण कार्यालयको कामकाजबाट विदाई लिए पनि साथीभाइ र खेलकुदबाट विदाई नभएको अभिव्यक्ति दिइन् । यतिबेला दक्ष र पटियालाबाट एनआईएस गरेका प्राविधिकहरूको निरन्तर अवकाशले आगामी दिनमा खेलकुदलाई ठूलो क्षति पुग्न सक्ने औंल्याउँदै उनले समयमै राखेपले यसको रोकथामको लागि कदम चाल्नुपर्ने सुझाइन् ।

सोमबार अवकास प्राप्त गरेका गुरुङले परिषद्मा रहेर आफूले कामकाज गर्दा सबैबाट सहयोग र माया पाएको भन्दै परिषद्बाट बिदा भएता पनि खेलकुदबाट बिदा नहुने बताए । साथै आफुलाई यहाँसम्म पुऱ्याउने सम्पूर्ण मित्रहरू र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई उनले धन्यवाद दिए । खेलकुदमा काम गर्दाको लामो यात्रामा कहिँकतै भूलवश गल्ती भएको भए त्यसको लागि उनले क्षमायाचना समेत सो अवसरमा गरेका थिए ।

त्यस्तै, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेती र तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिकले परिषदमा काम गर्दाका अवसरमा गुरुङसँग बिताएका दिनहरूको चर्चा गर्दै आगामी दिनमा पनि खेलकुद विकास र विस्तारमा गुरुङको ज्ञान र सिपलाई प्रयोग गर्नुपर्ने बताए ।

विदाई कार्यक्रममा राखेप प्रशासन प्रमुख बासुदेव आचार्य, तालिम तथा प्रशिक्षण विभाग तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक, प्रमुख प्रशिक्षक, कर्मचारीलगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।