मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण १०३ को मृत्यु

मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण १०३ को मृत्यु


भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेकोअस्पतालका प्रमुख डा. सुनिल कुमार सिंहलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

यस्तै, मुजफ्फरपुरको केजरीवाल हस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

विहारका मुख्य मन्त्री नितिशकुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गरेका थिए । उनले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई चार लाख रुपैँया दिने घोषणा गरेका छन् ।

उनले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।

टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन् ।

यसैक्रममा मुजफ्फरपुरमा यतिका संख्यामा बालबालिकालगायत मानिसको मृत्यु हुनुको कारणको रुपमा लिची सेवनलाई औंल्याइएको छ । लिचीको बिजमा पाइने मेथाईलीन प्रोपाइड ग्लाईसीन (एमसीपीजी) ले पहलेदेखि नै शरीरमा कम ग्लूकोस स्तर भएका कुपोषित बच्चाहरुलाई मृत्युको मुखमा पुऱ्याउने गरेको सम्बन्धित विज्ञले औंल्याउँदै आएका छन् ।