-वसन्तराज कुँवर
नेपाली समाजमा झापडको आफ्नै महत्त्व छ । धेरै बाबुलाई यो परेको छ कि झापड नै छोराछोरी पढाउने कार्गर उपाय हो । भनिन्छ, मानिस आत्मा हो, आत्मालाई झापडले काम गर्दैन तर मेरो आफ्नो जीवनमा भने यसले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
मलाई केटाकेटीमा पढ्नभन्दा खेल्न निक्कै मन लाग्थ्यो । बुबा पढ्नमा ज्यादै रुचि राख्ने व्यक्ति हुनुभएकोले उहाँलाई म जेठो छोरोले खुब पढोस् भन्ने चाहना थियो तर मलाई भने पढ्नभन्दा खेल्न खुब मन पथ्र्यो । उहाँले जताततैबाट ज्ञान, विवेक बढ्ने पाठ्यसामग्री ल्याइदिनुहुन्थ्यो तर म भने फोटोमात्र हर्ेन रुचाउँथेँ । उहाँले क्लास चढेर नयाँ कक्षामा जाँदा स्कुल लाग्नुअघि नै छोराले किताबहरू पढोस् भनेर सम्पूर्ण पुस्तक किनिदिनुहुन्थ्यो । मलाई भने ती किताबहरू देख्दैमा टाउको दुख्थ्यो । बाहिरी किताबको खोल त म केही दिनभित्रै च्यातिसकेको हुन्थेँ । बुबा बिदाको दिनमा मलाई अगाडि राखेर पढाउन चाहनुहुन्थ्यो तर म भने कुन बेला फुत्कियौँ भन्ने धुनमा नै हुन्थेँ । बुबा ममाथि पढाइमा गरिएको लगानीको उत्पादन हर्ेन चाहनुहुन्थ्यो तर मलाई बुबाको त्यो लगानीको कुनै महत्त्व र अर्थ थिएन । बुबा मलाई राम्रो शिक्षा दिन दुःख साथ कमाएको रकम मेरो पढाइमा खर्च गर्नुहुन्थ्यो र मैले पढे-लेखेर सम्पन्न जीवन बिताएको देख्न चाहनुहुन्थ्यो तर ममा भने नपढीकन गुलेली हानेर नै ठूलो हुने रहर थियो । म बुबाको लगानीको न अर्थ बुझ्थेँ न उद्देश्य नै । मलाई मेरै दुनियाँ रमाइलो लागिरहेको थियो । गुलेली हान्ने, पौडी खेल्ने, गाई चराउन जाने, ऐंसेलु र चुत्रो खाने बस् यस्तै गरेर त्यही गाउँमा म बाँच्न चाहन्थेँ । मेरो कमजोर पढाइ, स्कुलबाट भाग्ने बानी, पढ भन्यो कि आँसु निकाल्ने आदत, पढ्नुपर्ला भनेर बाबुको अगाडि नै नपर्ने संस्कार देख्दै गएपछि बुबालाई एक दिन विश्वास भएछ कि अब यो छोराले पढ्दैन । यसलाई अब माया गरेर, अनुरोध गरेर, फकाएर वा तारिफ गरेर काम चल्दैन । अब यसलाई पढाउन मैले नयाँ तरिका अपनाउनुपर्छ । त्यो बुबाले ममाथि लागू गर्न लागेको नयाँ तरिका भनको मलाई साफ चुट्ने रहेछ ।
आखिर त्यो दिन मेरो जीवनमा बज्रपात भएर आयो । म त्यस्तै चार कक्षामा पढ्दथेँ । बुबाले धेरै दिनदेखिको आक्रोश, कुण्ठा, असफलता एक दिन ममाथि निकाल्न थाल्नुभयो । मैले त्यस दिन करिब एक घन्टा पिटाइ खाएँ । म रोएर यताउता भाग्न चाहन्थेँ तर साना खुट्टाहरूले म बुबाको पकडको क्षेत्रभन्दा बाहिर जान सक्थिनँथेँ । एक झापडमै म भुइँमा ढल्थेँ । उठेपछि फेरि झापड आउँथ्यो । म जोडजोडले नाकबाट सिँगान र आँखाबाट आँसु निकाली रोइरहेको थिएँ । हजुरआमा र मुमातिर हेरेर म आफ्नो ज्यान बचाउन प्रयास गर्दै थिएँ । उहाँहरूलाई पनि बुबाले तिमीहरूले यसलाई बिगारेका हौ भन्ने आरोप लागेपछि प्रतिकार गर्ने क्षमता भएन । म बच्नका लागि आँगनको चारतिर रुँदै भाग्न चाहन्थेँ तर निरन्तर पिटाइ खाई नै रहेको थिएँ । पिट्दापिट्दै बुबा पनि थाक्दै जानुभयो । अन्तमा उहाँले मलाई घरको छेउमा भएको भोगटेको बोटमा तल टाउको माथि खुट्टा पारेर बाँधेर झुन्ड्याइदिनुभयो । म उल्टो आकाशतिर हेर्दा वरिपरि भोगटेका फल देखिरहेको थिएँ । एकजना फुपूले मलाई बोटबाट झार्न खोज्दा उहाँले पनि बुबाको गाली खानुभयो । मेरी आमा आँखाभरि आँसु पारेर म नजिकै रहेको पिँढीको थाम समाती मलाई टुलुटुलु हेरिरहनुभएको थियो । हजुरआमाचाहिँ छोडिदे ए मर्ला भन्दै हुनुहुन्थ्यो तर मेरो दशा अझै समाप्त हुने लक्षण थिएन । धेरैबेरपछि बुबाले मलाई ‘ए भन् पढ्छस् कि पढ्दैनस्’ भनेर मेरो आँखैअगाडि आई सोध्नुभयो । मैले आँखाबाट तर्रर आँसु झारेर पढ्छु भनेर सिँगान पुच्दै उल्टो झुन्डिएको अवस्थामा भने । अघिको पिटाइभन्दा मेरा लागि झुन्डिएको अवस्था अलि आरामदायी थियो त्यसैले झुन्डिएपछि चाहिँ म जोडजोडले नरोई केवल बलिन्द्र धारा आँसु मात्र बगाइरहेको थिएँ ।
आखिर त्यो क्षण आयो । मलाई तल झारियो । मुमाले तत्कालै बोकेर कोठामा लैजानुभयो । सिँगान पुछिदिनुभयो । उहाँले आँखाभरि आँसु पार्दै, दुख्यो ? भनी सोध्नुभयो । मैले पनि आँसु झार्दै छैन भनेर टाउको यताउता हल्लाएँ । उहाँले मलाई छातीमा लगाई, ‘पढ्नुपर्छ नि त बुबा छोराले खुब पढोस् भन्ने चाहनुहुन्छ’ भन्नुभयो । मैले मुमालाई अब म झन् पढ्दिनँ भनेँ । मुमाले त्यस्तो भन्नुहुँदैन अब राम्ररी पढ है भन्नुभयो । मैले स्वीकृतिको टाउको हल्लाएँ तर त्यसपछि पनि झन्डै बीस मिनेटजति मेरो सुँक्कसुँक्क भने आई नै रह्यो । केहीबेरमा म थाकेर होला निदाएछु ।
त्यस दिनको कुटाइले भने मभित्र नराम्रो डर पैदा भयो । कुटाइका डरले म जबर्जस्ती अलि पढ्न थालेँ । बुबाले दिनुभएको गृहकार्य पनि कुटाइका डरले पूरा गर्न थालेँ । मलाई पढेर ठूलो मान्छे हुनु थिएन । वल्की केवल कुटाइबाट बच्नु थियो । बुबाले रिसमा कुटे पनि उहाँलाई मप्रति गहिरो माया थियो । केही बेरपछि नै उहाँले मलाई बोलाउनुभयो । म डराई-डराई गएँ । जाडोको याम थियो, उहाँ दोलाई ओडेर बस्नुभएको थियो । उहाँले दोलाई खोलेर काखमा बस्न भन्नुभयो । म काखमा बसेँ । उहाँले दोलाईले मलाई ढाक्नुभयो । मेरो मुख मात्र सिरक बाहिर थियो । उहाँले टाउको कनाउँदै भन्नुभयो, ‘मेरो ठूलो छोराले पढ्छ मलाई थाहा छ ।’ मैले सुँक्कसुँक्क सिँगान माथितिर तानेँ । त्यसै क्षण बुबाप्रतिको आक्रोश मेरो मनबाट तत्कालै हरायो ।
वास्तवमै त्यस कुटाइपछि मेरो पढाइमा निक्कै सुधार भयो । म त्यसपछि कहिल्यै फेल भइनँ । हिसाबमा चाहिँ म अलि कमजोर नै थिएँ । एमए पढ्दापढ्दै म पुलिस इन्सपेक्टर भएकोले मेरो पढाइ छुट्यो नत्र शायद मैले पीएचडीसम्म गर्ने थिएँ होला ।
हुन त आजको बालबच्चा हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणको चस्माले हेर्दा त्यो अपराध नै मानिएला तर मलाई भने के लाग्छ त्यसबखत त्यो पिटाइ मेरा लागि अत्यन्त जरुरी थियो किनकि म बुबाले सोचेझैं होईन आफूले सोचेझैं स्वतन्त्र जीवनचाहिँ रहेको थिएँ । गुलेली हानेर र गाई चराएर नै बाँच्न चाहिरहेको थिएँ । आफू खुसी गर्न हजुरआमा र मुमालाई प्रयोग गरिरहेको थिएँ । म बुबाको आर्थिक क्षति गराइरहेको थिएँ । बुबाको सम्झाइ-बुझाइ र अनुरोधलाई म तिरस्कार गरेर महत्त्व दिइरहेको थिइनँ । यस्तो अवस्थामा मलाई पढाउने, मलाई आफ्नो जिम्मेवारीबोध गराउने पिटाइभन्दा अर्को उपाय थिएन ।
यदि त्यस दिन मलाई बुबाको कडा कुटाइ नपरेको भए शायद अहिले म गाउँमा गोरु जोतिरहेको हुन्थेँ होला । आज म त्यो कुटाइका लागि बुबाप्रति आभार व्यक्त गर्दछु ।
मजस्तै भनेको नमान्ने एउटा अर्को समूह अहिले नेपालमा देखिएको छ त्यो हो राजनीतिक दलका ठूला र शीर्षस्थ भनिने नेताहरू । ती नेताहरूलाई संविधान बनाउन भनी नेपाली जनताले चुने, झन्डै एक हजारको बथानलाई कर काटी-काटी पाले । दुई वर्षमा संविधान बनाउनु भनी पठाएकोमा तीन वर्षसम्ममा पनि तिनले कानमा तेल हालेर बसेका छन् । मुलुककै ठूलो भवन तिनलाई छलफल गर्न दिए पनि तिनले मैले पढाइ छोडेर गुलेलीमा मस्त भएझैं आफ्नो जिम्मेवारी पूरा नगरी मन्त्री र प्रधानमन्त्री हुन व्यस्त भइरहेका छन् । मलाई मेरो बुबाको लगानीको चिन्ता नभएझैं उनीहरूलाई पनि नेपाली जनताको करको पैसा खर्च भएकोमा कुनै संवेदनशीलता छैन । हरिवंश र मदनकृष्णले टेलिभिजनबाट जति अनुरोध गरे पनि, नागरिक समाजले जति र्याली निकाले पनि, वकिलहरूले जति अनुरोध गरे पनि, उद्योगपतिहरूले जति सर्तक गराए पनि, गैंडालाई कनाएझैं उनीहरूलाई पनि यसको कुनै असर परेको देखिँदैन । लौ त भनौँ भने तिनलाई जनताले दिएको समयसीमा नै थाहा छैन र थाहा पाउन पनि चाहेको देखिँदैन । न तिनलाई नेपालको खस्कँदै गएको आर्थिक स्थितिले चिन्तित तुल्याएको छ न बढ्दै गएको अपराधबारे नै कुनै चासो छ । अनन्तकालसम्म सत्तामा बसेर मुलुक ध्वस्त हुने समयसम्ममा पनि उनीहरूको उद्देश्य भनेको प्रधानमन्त्री बन्ने मात्र देखिन्छ । नेपाली जनताको भावना मानौँ तिनलाई बुझ्नै नपर्नेझैं लाग्दछ । स्कुल-कलेज चलोस्-नचलोस् बजार भाउ नियन्त्रण होस्-नहोस्, संविधान बनोस्-नबनोस्, रोजगार होस्-नहोस्, तिनलाई चिन्ता देखिँदैन । संविधान निर्माणमा त उनीहरूको कुनै रुचि नै देखिँदैन । मलाई लागिरहेछ अहिलेका नेताहरूको मानसिकता मेरो बच्चामा नपढ्ने मानसिकतासँग ठ्याक्कै मिल्छ । त्यसैले म आफ्नै अनुभवको आधारमा पनि भन्छु कि यस्तो बेलामा अनुरोध, पुकार, माया, दयाले नेताहरूले आफ्नो जिम्मेवारी बुझ्लान्जस्तो लाग्दैन बरु मेरो बुबाले ममाथि लागू गरेको फर्मुलाले काम गर्न सक्छ ।
अहिले मेरो बुबा त्यसबखतको जस्तो हात छोड्न सक्नुहुन्न त्यसैले मेरो दिमागमा सुनसरी भरौलका रेग्मी आइरहेको छन् । झलनाथ खनाललाई उनले प्रेमपूर्वक गालामा हातले हान्दा खनालज्यूलाई प्रधानमन्त्री बनायो भने शीर्षस्थ भनिएका नेताहरूलाई पनि रेग्मीले प्रेमपूर्वक हत्केलाले गालामा दबाब दिँदा न संविधान बन्ने हो कि ? जसरी बुबाका धेरै अनुरोधहरू मैले लत्याएको थिएँ त्यसैगरी अहिलेका शीर्षस्थहरूले पनि जनताका तप्काबाट आएका विभिन्न अनुरोधलाई लत्याएका छन् । त्यस्ता फर्मुलाले काम गरेको छैन । मेरो विचारमा यस्तो समयमा भरौलको रेग्मीको प्रेमपूर्ण हत्केलाको दबाबले संविधान बन्न पनि सक्छ । गालामा परेका दबाबले बुद्धिलाई बाहिर निकाली शीर्षस्थ नेताहरूमा नयाँनयाँ सोच पनि आउन सक्छ । नत्र अहिलेसम्म तीन वर्षको स्थिति हेर्दा जुन काम गर्न संविधानसभामा उनीहरू गएका हुन् त्यो काम गर्ने उनीहरूको चाहना नै देखिँदैन । त्यसैले मलाई लाग्छ अहिले नीलाम्बर आचार्यको ठाउँमा सुनसरी भरौलका रेग्मीलाई नियुक्ति दिनु उचित हुन्छ । जब अनुरोध, आँसु, अनुनयले काम गर्दैन त्यतिबेलामा भरौलको रेग्मीको हत्केलाको दबाबले काम गर्न सक्छ । मलाई पनि पढाउन बुबाको हत्केलाको दबाब गालामा चाहिएको थियो । संविधान सडकको दबाबले होइन गालाको दबाबले बन्न सक्छ ।
प्रतिक्रिया