राजस्व चुहावटको ८१ वटा कसुरमा २ सय ३८ व्यक्तिविरुद्ध मुद्दा

राजस्व चुहावटको ८१ वटा कसुरमा २ सय ३८ व्यक्तिविरुद्ध मुद्दा


सरकारी आँखा कान छलेर राजस्व चुहावट गर्ने र गराउनेको बिगबिगी छ । सरोकारवाला निकाय चुहावट नियन्त्रणमा ठूलै संयन्त्र प्रयोग भएको र कारबाही भएको दावी गर्छ । तर जनाकार भने राजस्व छलीमा बैंक, राजस्व प्रशासन र व्यापारीको साँठगाँठ भएको दावी गर्छन् ।

चालू आर्थिक वर्षमा मात्रै राजस्व चुहावटको ८१ वटा कसुरमा २ सय ३८ व्यक्तिउपर मुद्दा दायर भएको छ । विभागले राजस्व छलीमा संलग्न भएकाहरुलाई बिगो र जरिवानाबापत १८ अर्ब ३२ करोड रुपैयाँ र तीन वर्षसम्मको कैदसहित माग दावी गरेको छ । पछिल्लो समय नक्कली बिल बिजक तयार पारी कारोबार गर्ने, बिल बिक्रि गर्ने र नक्कली कम्पनी खडा गरी राजस्व संकलनमा प्रभावित पार्ने काम बढेपछि विभागले निगरानी बढाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

मैनालीकाअनुसार राजस्व विभागले सुन भन्सार चोरी पैठारी कसुरमा ६६ दशमलव ४० किलो सुन बरामद गरेको छ । विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ वटा मुद्दामा संलग्न १ सय ४ जना विदेशीविरुद्ध मुद्धा दायर भएको छ । उनिहरुलाई विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्ब ११ करोड रुपैयाँ बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्मको कैद माग दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा एकपछि अर्को गर्दै मौलाउन थालेको छ । राजस्व छलीमा बैंक, राजस्व प्रशासन र व्यापारीको साँठगाँठ भएको पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री बताउँछन् । उनकाअनुसार सरकारी नियामक निकायले विलबिजक नखोज्नु, महिनैपिच्छे बैंक स्टेटमेन्ट नहेर्नु र विगतका विलहरुको चासो नराख्नुले पनि राजस्व छली व्यापक रुपमा छाएको हो ।

तर विभाग भने राजस्व छली तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धान र कारबाहीको काम अघि बढाइरहेको बताउँछ । उसले राजस्वको क्षेत्रमा निगरानी बढाएपछि राजस्व संकलनमा सुधार आएको दावी गर्दै आएको छ ।