अदालतमा सुनुवाइ भइरहँदा पूर्वराष्ट्रपति मोर्सीको निधन

अदालतमा सुनुवाइ भइरहँदा पूर्वराष्ट्रपति मोर्सीको निधन


इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । अदालतमा सुनुवाइ भइरहेका बेला उनको निधन भएको हो ।

अदालतमा सुनुवाइ चलिरहँदा एक्कासि ढलेका मोर्सीको हृदयाघातका कारण निधन भएको सरकारी अधिकारीहरुले बताइरहँदा उनको पार्टी मुस्लिम ब्रदरहुडले भने हृदयाघातबाट नभई उनको हत्या भएको दाबी गरेको छ । उनको निधनप्रति फरक फरक धारणा बाहिर आइरहेको छ । उनका परिवारका सदस्य र अधिकारवादीले भने बिरामी भएर पनि उपचार नपाएकोले ज्यान गएको बताएका छन् । उनिहरुले सरकारी दाबी गलत भएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

परिवार स्रोतकाअनुसार ६७ वर्षीय मोर्सी उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए ।
मोर्सी इजिप्टमा हाल प्रतिबन्धित इस्लामिस्ट मुभमेन्ट मुस्लिम ब्रदरहुडका शीर्ष नेतामध्ये एक हुन् । उनीमाथि प्यालेस्टाइन इस्लामिक ग्रुप ह्याम्ससँग सम्बन्ध राखेको लगायत अभियोग लगाइएको छ । इजिप्टको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाउँदै सन् २०१२ मा त्यहाँको सत्ता सम्हालेका थिए । तर सत्ता सम्हालेको १ वर्षपछि सन् २०१३ मा त्यहाँको सैनिकले उनको सरकार अपदस्थ गराएको थियो ।