राज्यको कोष दुरूपयोग मुद्दामा इजरायली प्रधानमन्त्रीकी पत्नीलाई जरीवाना

राज्यको कोष दुरूपयोग मुद्दामा इजरायली प्रधानमन्त्रीकी पत्नीलाई जरीवाना


इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली अदालतले ५५ हजार सेकल (इजरायली मुद्रा) जरिवाना गर्न आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर बराबर हो ।

तथापि, सारा नेतन्याहुले मुद्दामा दाबी गरिएजस्तो सम्पूर्ण रकम आफ्नो तर्फबाट दुरूपयोग नगरेको भन्दै जरिवाना रकममा पुनर्विचारका लागि ‘द जेरूसेलम मेजिष्ट्रेट कार्ट’समक्ष अपिल गरेपछि यसप्रति अदालतले सहमति दिएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

निवासमा खाना बनाउने मानिस नभएको भन्दै रेष्टुरेण्टबाट महङ्गो खानेकुरा मगाएर खाई सरकारी कोषको हिनामिना गरेको आभियोगमा प्रमपत्नी सारालाई जरिवाना तोकिएको हो ।

६० वर्षीया साराले छलपूर्ण तरिकाले सरकारको रकम हिनाविना गरेको र राज्यलाई विश्वासघात गरेको आरोप लागेको थियो । वकीलले दिएको जानकारीमा सारा आवासको नियमप्रति अनभिज्ञ रहेको र पाहुनाका लागि खाना उनको सहयोगीद्वारा मगाएको भन्दै चोखिने प्रयत्न गरिएको छ ।

यो मुद्दाका कारण सर्वसाधारण जनताको चासो बढेको र दबाबमा उनीप्रति छानविन भएको वकीलले बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुमाथि पनि केही भ्रष्टाचार आारोप लगाइँदै आएको छ तर प्रधानमन्त्रीले आफूले कुनै भ्रष्टाचार नगरेको तर भ्रष्टाचारबारे आफूविरूद्धका अफवाह केही इजरायली सञ्चारमाध्यम तथा राजनीतिक प्रतिद्वन्द्वीले आफूलाई बदनाम गर्न रचिएका षड्यन्त्र मात्र भएको जिकीर गर्दै आएका छन् ।