सांसद रामवीरले मागे सञ्चारमन्त्रीको राजीनामा

सांसद रामवीरले मागे सञ्चारमन्त्रीको राजीनामा


सत्तारूढ दल नेकपाकै सांसद रामवीर मानान्धरले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । सञ्चारमन्त्री बास्कोटाले गुठी प्रथालाई सामन्तवाद भनेपछि सांसद मानान्धरले उनको राजीनामा मागेका हुन् ।

सांसद मानान्धरले गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाएका छन् । सरकारको प्रवक्ताबाटै संस्कृतिमाथि धावा बोल्ने काम भएकोले उनले गलत काम गरेको सांसद मानान्धरको तर्क छ । ‘बास्कोटाले जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनपर्छ ।’ उनले भने, ‘होइन भने मन्त्री पदबाट राजीनामा दिनुपर्छ ।’

सांसद मानान्धरले गुठी बिधेयकको बिरुद्धमा सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले उल्टै उनिहरुलाई चोट पुग्ने खालका शब्द प्रयोग गरेको बताएका छन् । ‘मन्त्रीज्यूले आगोमा घिउ थप्ने काम गर्नुभएको छ ।’ सांसद मानन्धर भन्छन्, ‘सक्नुहुन्छ आन्दोलनमा उत्रिएका जनतासँग क्षमायाचना माग्नुस, होइन भने मन्त्री पदबाट राजीनामा दिनुस । संस्कृतिमाथि प्रहार गर्ने काम बन्द गर्नुस् ।’

विधेयकबिरुद्धको आन्दोलनमा उत्रिएका गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने सरकार र तिनका मन्त्रीहरुको दिनगन्ती सुरु भएको भन्दै बताउँदै आएका छन् । ‘प्रधानमन्त्री स्वदेश फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलन तात्नेछ ।’ नेकपा सांसद मानन्धर भन्छन्, ‘यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने सरकारबिरुद्धको मोर्चाबन्दी सुरु हुन्छ ।’

यता, प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले पनि गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने दोहो¥याएका छन् । उनले सञ्चारमन्त्री धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको भन्दै सच्चिन चेतावनी दिएका छन् । सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि गरेका छन् ।