उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिष्ट होइन : नेता रावल

उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिष्ट होइन : नेता रावल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिष्ट हुन नसक्ने बताएका छन् । केही लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष सचिव हुने सोचको अन्त्य हुनुपर्ने उनको तर्क थियो ।

नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा रावलले सुनौला अवसरलाई गुमाउने छुट नेकपासँग नरहेको बताएका छन् । ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके काँग्रेसकै हाल हुने आशंका व्यक्त गरेका छन् ।

उनले भने, ‘जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ, सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सीने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न ।’ पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका रावलले चुनावी बाचा पूरा गर्नुको विकल्प नरहेको बताए । सरकारका लोकप्रिय कामको गाउँमा सन्देश लिएर वृद्धभत्ता बढेको खबर गर्न कार्यकर्तालाई रावलले अपिल गरे ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लेखराजट भट्टले पार्टी एकता नै एतिहासिक उपलब्धि भएकाले भूमिका पाउने र नपाउने विषय प्रधान नठान्न आग्रह गरेका छन् । पार्टीमा जनवाद र केन्द्रीयता दुवै भूमिका हाबी हुने भएकोले त्यसलाई आत्मसात गर्न कार्यकर्तालाई आग्रह गरे ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापाले क्षमता, योग्यता र इमान्दारिताका आधारमा भूमिका बाँडफाँट गरिएकोले प्राप्त अवसरलाई अधिकतम उपयोग गर्न आग्रह गरे । थापाले गाउँ नगर, वडा कमिटी नै बलियो भएकोले जिल्ला कमिटीमा नअटाएका कार्यकर्तालाई थुप्रै अवसर रहेकोसमेत जानकरी गराए ।