न्युजिल्याण्डसँग बदला लिने मूडमा भारत

न्युजिल्याण्डसँग बदला लिने मूडमा भारत


विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज भारत र न्युजिल्यान्डबीच खेल हुँदैछ । विश्वकपको इतिहासमा अहिलेसम्म भारत र न्युजिल्यान्डबीच भएका ५ खेलमा न्युजिल्यान्ड ३–२ ले भारतभन्दा अघि छ । त्यसैले आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।

यो विश्वकपमा अहिलेसम्म न्युजिल्यान्डले तीन खेल खेलेको छ । न्युजिल्यान्डले उक्त ३ वटै खेलमा विजय हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा छ । त्यस्तै भारतले अहिलेसम्म खेलेका दुई खेलमा विजय हासिल गरेको स्थिति छ । दुवै अपराजित टीमविरुद्ध हुने यो खेलमा कस्ले बाजी मार्ला अहिले चासोको विषय बनेको छ ।

अहिलेसम्मका खेलमा न्युजिल्यान्डले यो विश्वकपमा कमजोर मानिएका टीमहरु अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई पराजित गरेको छ भने भारतले विश्वकपका दावेदार टीम दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको अवस्था छ ।

न्युजिल्यान्ड र भारत विच हुने विश्वकप २०१९ को यो १८ औं खेल नटिङ्घमको टेन्ट ब्रिजमा हुनेछ । खेल निकै रोचक हुने अपेक्षा गरिए पनि खेलको समयमा पानी पर्ने सम्भावना बढेको मौसमविदको बर्ताका छन् । अहिलेसम्म बर्षाका कारण विश्वकपका तीनवटा खेलहरु रद्द भैसकेका छन् ।

विश्वकपका दौरान भारत र न्युजिल्याण्डविच भएको वार्मअप म्याचमा न्युजिल्यान्डले जितेको थियो ।

आजको खेलमा न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), टम ब्लन्डल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्रान्डहोम, लकी फग्र्यूसन, मार्टिन गुप्टिल, टम लाथम, कोलिन मनुरो, जिम्मी नीशाम, हेनरी निकोलस, मिशेल सेन्टनर, ईश सोढी, टिम साउदी र रोस टेलर रहेका छन् ।

त्यस्तै भारतको टोलीमा विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेन्द्र चहल, महेन्द्रसिंह धोनी (विकेटकीपर), रवीन्द्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या, लोकेश राहुल, मोहम्मद शमी, विजय शंकर, रोहित शर्मा र कुलदीप यादव रहेका छन् ।