अन्तरविद्यालय फुटसलमा विजेताले ३० हजार पाउने

अन्तरविद्यालय फुटसलमा विजेताले ३० हजार पाउने


दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता जेठ ३१ गते शुक्रबारदेखि सुरु हुने भएको छ । आयोजक कखरा इभेन्ट म्यानेजमेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो ।

शुक्र र शनिबार दुई दिनसम्म संचालन हुने प्रतियोगितामा ३२ विद्यालयको टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा १६ वर्षभन्दा मुनिका विद्यार्थीले मात्र खेल्न पाउने छन् । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ३० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । उपविजेताले २० हजार सहित मेडल र ट्रफी पाउने छन् ।

यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई गोल्डेन गेट इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गरेको छ । आयोजक र गोल्डेन गेटबीच एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । गोल्डेन गेटका सिईओ रमेश सिलवाल र कखराका सिईओ कृष्णप्रसाद कँडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।