नयाँ सदस्यसचिवको दौड १३औँ ‘साग’सम्म चल्ने सङ्केत

नयाँ सदस्यसचिवको दौड १३औँ ‘साग’सम्म चल्ने सङ्केत


  • श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल आउँदो असार ९ गते समाप्त हुँदै छ । विष्टको कार्यकाल समाप्तिसँगै राखेपको सदस्यसचिव हुने आकाङ्क्षीहरूको दौडाहा चरम उत्कर्षमा छ । करिब एक दर्जन सदस्यसचिवका आकाङ्क्षी अहिले सिंहदरबारदेखि बालुवाटारसम्म मुख मिठ्याउँदै दौड लगाइरहेका छन् । तीमध्ये कोहीले पार्टीका नेतादेखि वरिष्ठ नेतालाई आफ्नो सारथि बनाइरहेका छन् भने कोही राजनीतिक शक्तिको पहुँचमा आर्थिक पाटोलाई सेतु बनाउँदै आएका छन् । त्यस्तै कोही आफूले समग्र खेलकुदको विकास र विस्तारमा गरेको योगदानको प्रमाणपत्र पेस गरिरहेका छन् । आकाङ्क्षीहरूले यस्तो सपना देख्दै आफ्नो दौड शुरु गरे पनि अहिलेसम्म उनीहरूको सपना स्थानीय तहका नेतामै सीमित हुन पुगेको छ, अर्थात् हेडक्वार्टरसम्म पुग्न सकेको छैन् । सदस्यसचिव हुने सपना बोकेका आकाङ्क्षीहरूमा कोही खरायो छन् भने कोही कछुवा । अब खरायो र कछुवाको दौडमा बाजीचाहिँ कसले मार्ने हो त्यो रोचक बन्दै गएको छ ।

प्राप्त जानकारीअनुसार यतिबेला सदस्यसचिवको दौडमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायत शिव कोइराला (ज्वाला), दानबहादुर तामाङ, सुदिल शाही, तेजबहादुर गुरुङ, राजेश गुरुङ, विनोद ढकाल, रमेश सिलवाल, रिम रानाभाट र एकजना (महिला) रहेको बुझिएको छ । एकजना महिला पनि सदस्यसचिवको दौडमा रहेको चर्चा चले पनि अहिलेसम्म उनको नाम गोप्य राखिएको छ । सदस्यसचिवकी दाबेदार ती महिला ललितपुर जिल्लाको भनिए पनि उनको नामको अहिलेसम्म खुलासा भएको छैन । अहिले सबै दाबेदारहरूले सदस्यसचिवको दाबेदारी प्रस्तुत गर्दै आ–आफ्नो शक्तिको आधारमा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई दबाब दिँदै कान फुकिरहेको सूत्रले जनाएको छ । यतिबेलासम्म अनसिन खेलमा लिप्त आकाङ्क्षीहरूमध्ये अब कसको भागमा ‘एक्का ट्रायल’ पर्ने हो त्यो यतिबेला चासोको विषय बनेको छ ।

दुई सातापछि समाप्त हुने विष्टको कार्यकालपछि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा कसको नियुक्ति होला ? चासो उत्पन्न हुनु स्वाभाविकै हो । अहिले यो चासो खेलकुद परिषद्का कर्मचारीहरूमा भुसको आगोजस्तै बनेको छ । कोही वर्तमान सदस्यसचिव केशवकुमार विष्ट नै पुनः सदस्यसचिव भएर आउने निष्कर्ष निकालिरहेका छन् भने कोही नयाँ सदस्यसचिव आउने चर्चा गरिरहेका छन् । तर, अहिलेसम्म यो नै व्यक्ति सदस्यसचिव हुने भनेर कोही पनि ढुक्क भने हुन सकेका छैनन् । साँचो रूपमा भन्नुपर्दा अहिले खेलकुदमा को सदस्यसचिव होला भन्ने विषयमा अन्योलको वातावरण छ । यही अन्योलको वातावरणमा अहिले खेलकुदको वातावरण पनि गर्माएको छ, अर्थात् अड्कल र अनुमानकै भरमा नयाँ सदस्यसचिवबारे चर्चा र परिचर्चा गरिन थालेको छ ।

राखेपमा नयाँ सदस्यसचिवको चर्चा–परिचर्चा चलिरहेको अवस्थामा राखेपको यही कार्यसमितिले नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्म काम गर्ने चर्चा पनि चलेको छ । यो चर्चा कहाँसम्म सत्य हो त्यो आफ्नो ठाउँमा होला, तर १३औँ सागसम्म राखेपको सदस्यसचिव फेरबदल नगर्ने सोचमा खेलकुदमन्त्री विश्वकर्मा रहेको सूत्रको दाबी छ । अहिलेको अवस्थामा नयाँ सदस्यसचिवको नियुक्ति गर्दा १३औँ सागको आयोजनामा असर पर्ने मात्र नभई खेलकुदको वातावरण पनि घुमिल हुने मन्त्रालयको ठम्याइ छ । यसर्थमा कि अहिले संसदीय समितिमा छफछल रहेको र केही महिनापछि लागू हुने खेलकुद ऐनले पनि १३औँ सागसम्म राखेपको सदस्यसचिवको फेरबदल नगर्ने मुडमा मन्त्री विश्वकर्मा रहेको बुझिएको छ । खेलकुद ऐन लागू हुँदा राखेपको बोर्ड नै विघटन हुने भएकोले मन्त्री विश्वकर्माले दुईपटक सदस्यसचिवको नियुक्ति गर्नुभन्दा एकैपटक १३औँ सागपछि सदस्यसचिवको नियुक्ति गर्ने सोचमा रहेको सूत्रले बताएको छ । स्मरणीय छ, खेलकुद ऐन लागू भएपछि राखेपका सम्पूर्ण पदाधिकारीको पदावधि स्वतः खारेज हुनेछ । जुन कुरो नयाँ खेलकुद ऐनमा व्यवस्था गरिएको छ ।

त्यस्तै, आउँदो सेप्टेम्बरमा नेपाल ओलम्पिक कमिटीको निर्वाचनसमेत परेकोले त्यतिबेलासम्म खेलकुद ऐन जारी नहुने प्रायः निश्चित छ । अझ संसदीय उपसमितिको संयोजक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ भएकाले उनले खेलकुद ऐनलाई ओलम्पिक कमिटीको निर्वाचनपछि मात्रै लागू गर्ने देखिन्छ । त्यसभन्दा अघि खेलकुद ऐन लागू गरे श्रेष्ठले निर्वाचनमा नै नउठ्न नपाउने नयाँ ऐनमा व्यवस्था छ । ऐनमा व्यवस्था गरिएअनुसार एक व्यक्तिले दुई कार्यकालभन्दा बढी खेलकुदका सङ्घमा बस्न पाउँदैन । यदि ऐन छिटो लागू भए श्रेष्ठले निर्वाचनमा नै उठ्न नपाउने वातावरण बन्ने भएकोले अहिले उनले नयाँ ऐन संशोधन गरेर मात्रै १३औँ सागपछि जारी गर्ने पक्षमा रहेको सूत्रको दाबी छ । स्मरणीय छ, नेपाल स्की सङ्घको अध्यक्ष बनेर श्रेष्ठले दुई कार्यकाल सम्हालिसकेका छन् । आउँदो निर्वाचनमा पनि श्रेष्ठ स्की सङ्घकै अध्यक्ष बनेर नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पड्काउने दाउमा छन् । यसमा श्रेष्ठ कति सफल हुन्छन् त्यो आफ्नो ठाउँमा भए पनि एउटा तीतो सत्य के हो भने जबसम्म ओलम्पिक कमिटीको निर्वाचन हुँदैन तबसम्म श्रेष्ठले नयाँ खेलकुद ऐनलाई ‘ओथारा’मा राख्ने प्रायः निश्चित छ । त्यसपछि पनि खेलकुद ऐनले बच्चा कोरल्छ कि कोरल्दैन त्यो त्यसै भन्न सकिने अवस्था छैन । नयाँ खेलकुद ऐनप्रति सङ्घका पदाधिकारी निकै सशङ्कित भएका कारण व्यापक रूपमा संशोधन गरेर मात्र लागू गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

यी सबै चर्चा–परिचर्चाका विषय भए पनि असार ९ गतेपछि वास्तविक सदस्यसचिवको दर्शन हुनेछ । नयाँ सदस्यसचिवमा वर्तमान सदस्यसचिव केशवकुमार विष्ट आउन पनि सक्छन्, नआउन पनि । तर, खेलाडी र प्रशिक्षकहरूले विष्ट अनुभवी सदस्यसचिव भएकोले उनीलाई नै दोहोऱ्याउनुपर्ने माग सार्वजनिक रूपमै गरेका छन् । त्यसमा चर्चित खेलाडी वैकुण्ठ मानन्धर, जीतबहादुर केसी, दीपक विष्ट, दीपक श्रेष्ठ र कुशल श्रेष्ठ अग्रपङ्क्तिमा देखिएका छन् । यी चर्चित खेलाडी तथा प्रशिक्षकले नेपालमा आयोजना हुने १३औँ सागलाई सफलताको मूर्त रूप दिन विष्टलाई पुनः सदस्यसचिवमा ल्याउनुपर्ने माग गरेका छन् । त्यस्तै, करातेका राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठले कराते एकेडेमीको उद्घाटन समारोहमा खेलकुदमन्त्री विश्वकर्मासन्मुख १३औँ सागको लागि विष्टलाई पुनः सदस्यसचिवमा दोहोऱ्याउनुपर्ने बताएका थिए । सो अवसरमा श्रेष्ठले आफू चयन गर्ने स्थानमा नभएको भन्दै चयन गर्दा खेलकुदको हितलाई दृष्टिगत गर्दै सदस्यसचिवको चयन गर्नुपर्ने धारणा राखेका थिए । यसको लागि आफ्नो चारवर्षे कार्यकालमा दुईवटा राष्ट्रियता प्रतियोगिता आयोजना गर्न सफल विष्ट नै उपयुक्त व्यक्ति भएको पनि चर्चा गरेका थिए । त्यस्तै, प्रशिक्षक र कर्मचारीहरूको स्वर पनि विष्टप्रति नै सोझिएको छ ।