हामी बाटोमा पुगे देशको स्वास्थ्य राम्रो रहन नसक्ला : कर्ण

हामी बाटोमा पुगे देशको स्वास्थ्य राम्रो रहन नसक्ला : कर्ण


राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राजपा नेता तथा सांसद लक्ष्मणलाल कर्णले सो चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कर्णले सरकार संविधान संशोधन र कार्यान्वयनमा प्रतिबद्ध नभए आफूहरू सदन छाडेर सडक संघर्षमा जाने चेतावनी दिएका हुन् ।

उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण पनि गराए । संविधान संशोधनको माग गर्नेहरू अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिबद्धतालाई नभुल्न चेतावनी दिएका हुन् ।

सरकारलाई चेतावनी दिँदै कर्णले भने, ‘हामीलाई संसदबाट नधकेल्नुहोस् । यसअघि हामी संसदबाहिर जाँदाको समय पनि तपाईंलाई याद होला ? त्यो समयमा यही ठाउँबाट हामी गएका हौँ बाटोमा । फेरि हामी बाटोमा गयौँ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु ।’

उनले अन्य पार्टीहरूलाई पनि भने, ‘सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’