सगरमाथा नाप्ने कार्की गृहजिल्लामा सम्मानित

सगरमाथा नाप्ने कार्की गृहजिल्लामा सम्मानित


नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापनमा सफलतापूर्वक सहभागी भई फर्किएका मापन टोलीका सदस्य रविन कार्कीलाई गृहजिल्ला बाग्लुङमा सम्मान गरिएको छ ।

नापी विभागले पठाएको चारजनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वक जिम्मेवारी पूरा गरेको भन्दै कार्कीलाई गृहजिल्ला बाग्लुङमा सम्मान गरिएको हो । सगरमाथा उचाइ मापनमा सफलतापूर्वक सहभागी भई सिंगो बाग्लुङलाई गौरवान्वित तुल्याएको भन्दै जिल्लामा क्रियाशील सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी कार्कीलाई सम्मान गरेको हो ।

आफ्नो सहकारीको शेयर सदस्य भएर विश्वको अग्लो सगरमाथा आरोहणसँगै उचाइ मापनमा सहभागी भई नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै कार्कीलाई सम्मान गरिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । कार्की जिल्लाको बाग्लुङ नगरपालिका–८ सिगानामा जन्मेर नापी विभागको अधिकृत भई सगरमाथा मापनमा सफलतापूर्वक सहभागी भएका थिए । सगरमाथा आरोहणका क्रममा जति दुःख भए पनि गृहजिल्लाको सम्मानले सबै दुःख सुखमा परिणत भएको सगरमाथा मापन सदस्य कार्कीले बताए ।

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षण सुरजसिंह भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय गाइड छिरिङजंबु शेर्पासहित चैत २६ गते काठमाडौंबाट सगरमाथा मापनका लागि प्रस्थान गरी जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहणसँगै उचाइ मापनको तथ्यांक संकलन गरी ९ गते काठमाडौं फर्किएका थियो ।