सीके राउत अचानक भियनामा, भन्छन्- ‘मर्न तयार छौँ तर विनाकारण मरिन्न’

सीके राउत अचानक भियनामा, भन्छन्- ‘मर्न तयार छौँ तर विनाकारण मरिन्न’


■ सागर सुवेदी
(Sagar Subedi, Austria)

अष्ट्रियाको राजधानी भियनास्थित दक्षिण एसिया, तिब्बत तथा बुद्धिष्टसम्बन्धी पढाइ हुने भियना विश्वविद्यालयको एक फ्याकल्टीले विगतदेखि नेपाल राज्यलाई टुक्राउने माग राख्ने विवादास्पद व्यक्तित्व सिके रावतसंँगको अन्तक्रिया तथा एक प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको अगुवाई नेपाल टेलिभिजनकी पूर्व समाचारवाचिका तथा हाल भियना विश्वविद्यालयको दक्षिण एसिया, तिब्बत तथा बुद्धिष्ट स्टडीसम्बन्धी फ्याकल्टीमा प्राध्यापन गराउने अल्का आत्रेय चुडालले गर्नुभएको थियो । तथापि, कार्यक्रम सञ्चालन तथा सिके राउतको बारेमा सुरुमा एक छोटो जानकारी दिने काम उक्त विश्वविद्यालयकै कुनै प्राध्यपकले गरेका थिए ।

राज्य विप्लवको मुद्दामा कयौँपटक प्रहरी हिरासतमा पुगेका क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) धारण गरेका सीके भियना आउँदै छन् भनेपछि भियनावासी नेपालीहरूमा कौतुहलता जागृत हुनु स्वभाभिक नै थियो र यसै विषयमा केही दिनदेखि चर्चा–परिचर्चा पनि भइरहेको देखिन्थ्यो । पंक्तिकारको सोचमा पनि सीकेको भियना विश्वविद्यालयमा स्पीच भनेपछि पक्कै पनि अष्ट्रियामा रही नेपालको राजनीतिप्रति चासो राख्नेहरू, प्राध्यापक तथा नेपाललाई नजिकबाट नियाल्नेहरूको उपस्थितिले हल खचाखच भरिन्छ भन्ने अनुमान थियो तर त्यस्तो केहि भएन । एकजना त्यसै फ्याकल्टीका प्राध्यापकबाहेक विभिन्न पेशा गरी अष्ट्रियामा बसोबास गर्ने लगभग बीसको संख्यामा आएका नेपालीहरू मात्र थिए ।

सीकेको सुरुवाती प्रस्तुति नेपालको एकीकरण लगायत राणा शासन, राजतन्त्र, पञ्चायत अनि गणतन्त्रसम्मको नालीबेली थियो भने उनले प्रस्तुत गर्दा लिएका रेफ्रेन्स तथा डाटा पनि Human Development Index बाट तयार गरिएका सामाग्रीहरू पावर पोइन्टको मद्दतले प्रस्तुत गरेका थिए । उनले प्रधानमन्त्री केपी ओलीले जनता हँसाउनका निमित्त प्रयोग गर्ने शब्द ‘समृद्ध नेपाल र सुखी नेपाली’ बेला–बेलामा प्रयोग गरे । तर उनको प्रस्तुतिको मूल सार या प्रमुख भनाईचाहिँ नेपाल राज्यले असमान तवरले नेपाली नागरिक– त्यसमा पनि तराईवासलाई राज्यले भिन्न ब्यबहार गरिरेहेको छ भन्नु नै थियो ।

कार्यक्रम यसरी निर्धारण गरेको बुझियो कि त्यहाँ दोहोरो सवालजवाफ गर्न समयको अभाव रहेजस्तो देखाइयो । त्यो कसरी प्रष्टियो भने सीकेको प्रस्तुतिको अन्त्यपछि प्रश्न सोध्ने पालो आउँछ भनेर कुरेका नेपालीमध्येबाट एकजनाले सोधेको प्रश्नको जवाफ दिएपछि समय छैन भनियो । तथापि, पङ्क्तिकारले एउटा सवाल भने गरेको थियो–

‘डा राउत, विगत लामो समयदेखि तराईमा संगठन निर्माण गर्दैगर्दा तपाईंले स्वतन्त्र मधेश (मधेश स्वराज)को मुद्दा उठाउनुभयो र नेपाल सरकारले कयौँपटक तपाईंलाई गिरफ्तार गरी राज्यविरुद्धको अपराधमा मुद्दा पनि चलायो । तर, मुद्दा चल्दै गर्दा अप्रत्यासित रूपमा सत्तारुढ नेकपाको उच्च तहसँग सम्झौता गरेर राजनीतिक दल निर्माण गर्छु भन्दै तपाईं अगाडि आउनुभयो, अब मधेश स्वराजको विषय के हुन्छ ? के तपाईंले आफ्नो मुद्दा छोड्नुभएको हो ?’

राउतको जवाफ यसप्रकार रह्यो– ‘म मूलधारको राजनीतिमा आउन सक्छु भनेर स्वयम् प्रधानमन्त्री केपी ओली पनि विश्वस्त हुन सकिरहनु भएको थिएन, त्यसैले म काठमाडौंको सम्झौता सकेर तराई जाँदा मलाई प्रहरीबाट पीएसओ नै खटाइएको थियो । मुलतः म मुलधारको राजनीतिमा आउनुको प्रमुख कुरा राज्यका निकाय तथा नेपाल सरकारले मलगायत हाम्रा कार्यकर्तालाई दिएको यातना नै हो । जो देशमा मानवअधिकारको वकालत गर्ने व्यक्तित्वहरू तथा पत्रकारहरू नै मेरा विरुद्ध भए । विगत पाँच वर्षको अवधिमा मेरो पक्षबाट कसैले बोल्ने चासो दर्शाएनन् या हिम्मत नै गरेनन् । म उदाहरण दिन्छु– मैले एकपटक एबीसी टेलिभिजनमा अन्तर्वार्ता दिएको थिएँ, उक्त अन्तर्वार्ताको कारण मेडिया काउन्सिलले उक्त टेलिभिजनलाई कारवाहीकै दायरामा ल्यायो । नेपाल राज्यले नै मिडियालाई परिपत्र गरेर सीकेको कुनै पनि अभिव्यक्ति वा कार्यक्रम प्रशारण नगराउनु भनेर दबाब दिएको छ । यति मात्र नभएर मानवअधिकारकर्मी तथा एम्नेष्टी इन्टरनेशनललगायतका संस्था पनि हाम्रो अधिकार तथा राज्यले दिएको पीडामा बोल्न सकेनन् । हामीले प्रहरीको लाठीको जवाफमा गुलाब पनि दियौँ र शान्तिपूर्ण माध्यमबाट हाम्रो अधिकारलाई स्थापित गर्नको लागि लड्यौँ । तर पनि हाम्रो स्वराजको अभियानलाई कसैले समर्थन गरेन, न कुनै विश्वविद्यालयले मलाई बोलायो न कसैले मलाई केही सोधे । म तपाइलाई अझै प्रस्ट भन्छु– हामी मर्नको लागि तयार छौँ तर विनाकारण मर्नचाहिँ तयार छैनौँ । म तथा हाम्रा कोही मान्छे मर्दैमा हाम्रो जो उद्देश्य पूरा हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ । त्यसैले हामी सम्झौता गर्न बाध्य भयौँ । तर हाम्रो एजेण्डालाई मैले छोड्दैमा मात्र छोडिँदैन । हामी वर्तमान परिप्रेक्ष्यमा यही संविधानको सीमाभित्रबाट आफ्नो अधिकार प्राप्त गरेरै छोड्ने छौँ ।

हरेक प्रश्नको जवाफ घुमाएर दिने राउतको भनाईले यो प्रस्ट पार्छ कि उनी मधेश स्वराजको मुद्दाबाट कत्ति पनि पछाडि हटेका छैनन् । उनी तराइमा जनमत तयार नै गरिरहेका छन् र देश–विदेश घुमेर आफूलाई थप चिनाउने अनि अन्तर्राष्ट्रिय स्तरबाट समर्थन लिएर नयाँ देश निर्माण गर्ने प्रक्रिया तथा जनमत संग्रह गर्न नेपाल सरकारलाई दबाब दिने रणनीति अख्तियार गर्दैछन् भनी स्पष्ट आभास मिल्दछ ।