आतंककारीविरुद्ध गरिएको हवाई आक्रमणमा पाँच सैनिकको मृत्यु

आतंककारीविरुद्ध गरिएको हवाई आक्रमणमा पाँच सैनिकको मृत्यु


अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतंककारीविरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए । इमाम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतंककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआबद्ध संयुक्त बलले गरेको हो भन्ने प्रस्ट भएको छैन । तर, आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकुलक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।