गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग


नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले संयुक्त रूपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुनेबित्तिकै उनीहरूले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौंका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरे । कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए ।

सभामुख कृष्णबहादुर महरासित समय लिई सांसद सिंहले प्रस्तावित विधेयकमा पुस्ताँैपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपत्तिजनक रहेको बताए । उनले भने, ‘विधेयक सरोकारवाला निकायसँगको छलफलबिना किन ल्याउनुप¥यो ? यसबाट दुई हजारभन्दा गुठी प्रभावित हुन्छन् । विधेयक संविधानविपरीत छ । निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो । धार्मिक स्वतन्त्रताविपरीत भयो । म विधेयक फिर्ता लिन आग्रह गरेको छ ।’

राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।

उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । बैठकमा सभामुख महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।