ग्यारेजबाट बाहिरिएको काङ्ग्रेस !

ग्यारेजबाट बाहिरिएको काङ्ग्रेस !


नेपाली काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानको पहिलो चरण सम्पन्न भएको जानकारी दिने सिलसिलामा पार्टी–प्रवक्ता विश्वप्रकाश शर्माले एक रोचक अभिव्यक्ति दिए । उनको भनाइको सार थियो– ग्यारेजमा थन्किएर रहेको काङ्ग्रेसरूपी बिग्रिएको गाडी स्टार्ट भएको छ, ठेलठाल गरेर सडकमा उतारिएको गाडीले अब गति लिनेछ !
प्रवक्ता शर्माले वर्तमान काङ्ग्रेसको निम्ति प्रयोग गरेको बिम्ब सटिक छ । अर्थात्, काङ्ग्रेस सातपत्र धुलो जमेर ग्यारेजमा थन्किएको थोत्रो गाडीजस्तै अवस्थामा पुगेको दल हो । कुनै पनि राजनीतिक दलमा हुनुपर्ने चलायमान चरित्र गुमाएर निर्जीवतुल्य बन्न पुगेको यस दलको औचित्य या सान्दर्भिकतामाथि नै सवाल उठ्न थालेको परिवेशमा नेतृत्व तहको जिम्मेवार ओहोदामा रहेका पात्रले आफ्नो दलले अब गति लिन लागेको दाबी गर्नु जति स्वाभाविक छ, कथित जागरण अभियानपश्चात् पनि हालत जस्ताको तस्तै रहनुचाहिँ उत्तिकै विडम्बनायुक्त र विष्मयकारी विषय हुन आउँछ ।

पार्टी–सङ्गठनको अवस्था बुझ्ने, काङ्ग्रेसी प्रयासमा भएका आर्थिक तथा राजनीतिक उपलब्धि बुझाउने, भावी दिनमा गर्नुपर्ने कामबारे कार्यकर्ता एवम् नागरिक तहबाट सुझाव लिने उद्देश्य बताइएको थियो जागरण अभियानको । यस्तै, सुतेको पार्टीलाई जागृत तुल्याउने र सरकारका नराम्रा काम–कदम नङ्ग्याएर जनतामा जागरण ल्याउने काङ्ग्रेस नेतृत्वको ‘मकसद’ थियो । तर, कार्यकर्ता र जनता जगाउन हिँडेका काङ्ग्रेस नेताहरूलाई कार्यकर्ता पङ्क्तिबाट उल्टै नेतृत्व नै जागृत हुनुपर्ने चेतावनीयुक्त सुझाव प्राप्त भयो । कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा जनताको तहबाट काङ्ग्रेसको नेतृत्व नै सुध्रिनुपर्ने र काङ्ग्रेसको मौलिक सैद्धान्तिक निष्ठा पुनः पक्रिएर सच्चिँदै अघि बढ्नुपर्ने सुझाव देशभरबाटै दिइएको देखियो ।

पार्टीको मौलिक अस्तित्व रक्षार्थ पनि हिन्दूराष्ट्रको एजेण्डालाई काङ्ग्रेसले गम्भीरतापूर्वक अवलम्बन गर्नुपर्ने भावना देशभरका कार्यकर्ताले प्रत्यक्ष–परोक्ष तवरले प्रकट गरे पनि त्यसलाई महत्वपूर्ण सुझावको रूपमा समेट्ने हिम्मत जागरण अभियानका अगुवाहरूले प्रदर्शन गर्न सकेनन् ।

गुटगत राजनीतिले ग्रस्त काङ्ग्रेसले अभियानकर्ता खटाउँदा गुटको सन्तुलन मिलाउने चेष्टा नगरेको होइन, तर त्यो प्रयास पनि प्रत्युत्पादक नै बन्न पुग्यो । जागरण अभियानमा खटिएका नेताहरूले गुटगत आधारमै आफ्ना अनुभव बाँडे, सोही अभीष्टबाट उत्प्रेरित हुँदै निर्देशन लाद्ने चेष्टा गरे । उनीहरूले जागरण अभियानमार्फत गुटको रेखा मेटाउनुपर्ने थियो, तर उल्टै समूहगत विभाजनको रेखालाई गाढा तुल्याएर फर्किए । सरकारका गल्ती, कमी–कमजोरी, अनियमितता, भ्रष्टाचार उजागर गर्दै पार्टीको पक्षमा जनमत बढाउने दायित्व पाएका नेताहरूले शीर्ष नेतृत्व तहमा चल्दै आएको खिचातानी छरप्रस्ट हुने गरी कार्यकर्तामाझ सन्देश प्रवाहित गरे । आ–आफ्नो समूहको पक्षपोषण गरेर काङ्ग्रेसभित्रको गुटगत राजनीति संस्थागत गर्न तिनले थप मलजल गरे । कार्यकर्ता तहबाट ‘हामी देउवा, पौडेल, कोइराला, सिटौला कुन काङ्ग्रेस बन्ने ?’ भन्ने प्रश्न तेर्स्याइएपछि मात्र केन्द्रबाट खटाइएका नेताहरू रनभुल्ल परे ।

‘पार्टीको कार्यकर्ता बन्न देऊ, नेताका पिछलग्गु होइन’ भन्ने इमानदार तथा स्वाभिमानी कार्यकर्ताको भावनामाथि जागरण अभियानले ठेस नै पुऱ्यायो न कि तिनमा नेतृत्वप्रति भरोसा र विश्वास जगाउने कुनै आसलाग्दो जागरण पैदा गऱ्यो । सबभन्दा महत्वपूर्ण पक्ष त यो देखियो कि पार्टीको मौलिक अस्तित्व रक्षार्थ पनि हिन्दूराष्ट्रको एजेण्डालाई काङ्ग्रेसले गम्भीरतापूर्वक अवलम्बन गर्नुपर्ने भावना देशभरका कार्यकर्ताले प्रत्यक्ष–परोक्ष तवरले प्रकट गरे पनि त्यसलाई महत्वपूर्ण सुझावको रूपमा समेट्ने हिम्मत जागरण अभियानका अगुवाहरूले प्रदर्शन गर्न सकेनन् । नियमसङ्गत रूपमा आगामी फागुनमा हुनुपर्ने पार्टीको १४औँ महाधिवेशनलाई छल्दै कार्यकाल तन्काउने काङ्ग्रेस सभापतिको निहितार्थ स्वरूप जागरण अभियान अघिसारिएको भन्ने जो आरोप काङ्ग्रेसभित्रैबाट लाग्दै आएको छ, प्रकारान्तरले यसैको पुष्टि गर्छ कथित जागरण अभियन्ताहरूको यस निरीहताले । यसबाट काङ्ग्रेस कार्यकर्तामा जागरण वा आशा नभई चिन्ता र निराशा नै पैदा गराउनेमा सन्देह रहन्न ।

तथापि, मृतप्रायः अवस्थामा रहेको काङ्ग्रेसका हकमा जागरण अभियानले केही न केही जीवन्तताको आभास दिलाएको तर्क पनि काङ्ग्रेस–पङ्क्तिबाटै सुनिएका छन् । सुतेको काङ्ग्रेस कति जाग्यो, जनता कति जागृत भए भन्ने सवालको जवाफ आगामी दिनमा काङ्ग्रेस कति प्रखर रूपमा देखापर्छ, त्यसबाट मिल्ने नै छ । जहाँसम्म थोत्रिएर ग्यारेजमा थन्किएको काङ्ग्रेसरूपी गाडी अब गुड्ने अनि दोस्रो र तेस्रो जागरण अभियानसम्ममा गतिमा तीव्रता आउने काङ्ग्रेस प्रवक्ताको दाबी छ– उनको यो सदिच्छा साकार हुनु या नहुनुभित्र मुलुकको राजनीतिक परिदृश्यमा काङ्ग्रेस नामक दलको अस्तित्व कायम रहने कि नरहने भन्ने विष्मयकारी प्रश्नको जवाफ छुपेर रहेको अनुमान गर्दा अतिशयोक्तिपूर्ण नठहरिएला ।