करिश्माको आँखा नेकपातिर

करिश्माको आँखा नेकपातिर


नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यका रूपमा राजनीतिक करिअर शुरु गरेकी अभिनेतृ करिश्मा मानन्धरले नेकपामा प्रवेशका निम्ति प्रयास गरिरहेको बुझिएको छ । पार्टी प्रवेशका लागि उनले सीधै नेकपा अध्यक्ष प्रचण्डसँग भेटघाट र कुराकानी गरिरहेकी छिन् ।

करिश्माले आफू राजनीतिमा सक्रिय रहने, तर डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई विलय गराएको समाजवादी पार्टीमा नजाने अठोट लिएअनुरूप प्रचण्डसँग भेटघाट शुरु गरेकी हुन् । उनी डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । नयाँ शक्ति र सङ्घीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बनेपछि डा. भट्टराईले कतिपयलाई केन्द्रीय सदस्य बनाए पनि करिश्मालाई छुटाएका थिए ।

प्राप्त जानकारीअनुसार डा. भट्टराईसँग अहिले उनी निकै आक्रोशित छिन् र राजनीतिमै केही गरेर देखाउन चाहन्छिन् । नयाँ शक्तिमै गएपछि उनले स्कुल पढ्न सुरु गरेकी थिइन् । यो वर्ष उनी एसईई दिएर बसेकी छिन् र पीएचडीसम्म गर्ने आफ्नो धोको भएको बताउने गरेकी छिन् ।

नयाँ शक्ति पार्टी गठन गर्दा बाबुराम भट्टराईले विभिन्न क्षेत्रका विज्ञ, व्यावसायिक व्यक्ति तथा सेलेब्रिटीहरूलाई समावेश गरेका थिए । तर, केही समयको तामझामपछि बिस्तारैबिस्तारै साथ छोड्नेहरूको सङ्ख्या बढ्दै गएको थियो । नेकपाका अध्यक्ष प्रचण्ड करिश्माको नेकपा रुचिलाई लिएर सकारात्मक रहेको बुझिएको छ । राजनीतिक पार्टीमा प्रवेशलाई लिएर घटना र विचारसँग करिश्माले भनिन्, ‘म कुन पार्टीमा जाने भन्ने टुङ्गो भइसकेको छैन । तर, जहाँ गए पनि समाजवादीमा नजानेचाहिँ निश्चित छ ।

राजनीति भनेको विचार रहेछ, विचारै नमिलेपछि जबर्जस्ती पार्टीमा बसिरहने कुरा भएन । बाबुराम भट्टराई डासा’बलाई मैले तपार्इंले अहिले लिनुभएको विचारसँग म सहमत छैन भनेँ । राजनीतिको अनुभव पनि गरिहालुँ न त भनेर पहिला जनशक्ति पार्टीमा गएकी थिएँ । तर, अब कुन पार्टीले कस्तो विचार राख्छ र त्यहाँ आफ्नो विचार फिट हुन्छ कि हुँदैन भन्ने बुझेर मात्रै जान चाहन्छु । त्यसैले अहिले म राजनीतिक दलले लिएका सिद्धान्त र विचार बुझ्ने काम गरिरहेकी छु । यसक्रममा नेताहरू भेट्नु स्वाभाविक हो । मैले राजनीतिमा जाने ‘माइन्ड मेकअप’ गरेको तर कुनमा जाने भन्ने निश्चित नभइसकेको हुँदा स्पष्ट भन्न सक्ने अवस्थामा छैन ।’