‘जात्रै जात्रा’का दर्शकप्रति अष्ट्रेलियाबाटै आभार

‘जात्रै जात्रा’का दर्शकप्रति अष्ट्रेलियाबाटै आभार


  • राजन घिमिरे

अष्ट्रेलियामा नेपाली चलचित्र ‘जात्रै जात्रा’प्रति त्यहाँ रहेका नेपालीजनले दर्शाएका साथ र मायाका लागि उक्त चलचित्रलाई अष्ट्रेलिया भित्र्याउने ‘हो र होइन होला इभेन्टस्’ र ‘पप अप इन्टरटेनमेन्ट’ले आभार प्रकट गरेको छ । एक विज्ञप्ति प्रकाशित गर्दै आयोजकले भनेको छ– ‘प्रवासमा बसेर पनि नेपाली सिनेमाको बजार विस्तार गर्ने हाम्रो सोच र योजनामा साथ दिनुभएकोमा अष्ट्रेलियामा रहनुभएका नेपाली चलचित्रप्रेमी नेपालीहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘पछिल्लोपटक हामीले अष्ट्रेलियामा प्रदर्शन गरेको चलचित्र ‘जात्रै जात्रा’को सफलताप्रति अष्ट्रेलियामा रहनुभएका नेपालीको साथ, सहयोग, हौसला र प्रेरणा साँच्चै हाम्रो निमित्त आगामी दिनका लागि प्रेरणदायी एवम् सुनौलो मार्ग बनेको छ ।’

आगामी दिनमा यो भन्दा पनि राम्रो र दर्शकप्रिय चलचित्र लिएर आउने प्रतिबद्धता ब्यक्त गर्दै चलचित्र जात्रै जात्रालाई सिड्नीमा मात्र ३,५०० भन्दा बढी नेपालीले हेरेका आयोजकले जानकारी दिएका छन् । पूरा अष्ट्रेलियामा यस चलचित्रको ४५ भन्दा बढी शो भएकोमा आयोजकले गौरवान्वित महशुस गरेको बताइएको छ । ‘साँच्चै, अष्ट्रेलियामा नेपाली चलचित्रले पाएको यो सफलता र साथ हेर्दा हामी दाबीका साथ भन्न सक्छौँ कि नेपालपछि नेपाली चलचित्रलाई माया गर्ने र साथ दिने नेपालीहरू छन् भने त्यो अष्ट्रेलिया हो भनेर भन्न सक्ने आधार पाएका छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

सो विज्ञप्तिमा भनिएको छ– ‘चलचित्र जात्रै जात्राको यो सफलतामा अष्ट्रेलियामा रहनुभएका नेपालीको ठुलो साथ र हात छ । आगामी दिनहरूमा पनि स्तरीय र दर्शकप्रिय चलचित्रहरू अष्ट्रेलिया भित्र्याएर यहाँहरू समक्ष प्रस्तुत गर्ने हाम्रो प्रयास जारी रहने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौँ । हाम्रो समूहमाथि विश्वास गरेर यो चलचित्र दिनुहुने निर्देशक, निर्माता र कलाकारहरूका साथै यो चलचित्र हेर्नुहुने प्यारा दर्शक र अष्ट्रेलियाका विभिन्न शहरमा यो चलचित्र प्रदर्शन गर्नुहुने प्रदर्शक, विज्ञापनदाता तथा सहयोगी सबैप्रति हार्दिक आभार र नमन ब्यक्त गर्न चाहन्छौँ ।’

यसैबीच ‘जात्रै जात्रा’को अन्तिम शो आगामी शनिबार, आइतबार, सोमबार र बुधवार हुने जानकारी पनि दिइएको छ । अन्तिम शो नछुटाउन आयोजकको आग्रह छ ।