पुनःनिर्माणका लागि भारतद्धारा थप एक अर्ब ६० करोड सहयोग

पुनःनिर्माणका लागि भारतद्धारा थप एक अर्ब ६० करोड सहयोग


अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले सोमाबार अर्थसचिव डा राजन खनाललाई रु एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् ।

भारत सरकारले आवास पुनःनिमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई रु चार अर्ब ५० करोड प्रदान गरिसकेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनःनिमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ । उक्त कार्यक्रममा सरकारले भूकम्प पश्चातको पुनःनिमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना व्यक्त गरेको छ ।

सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनःनिमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेका दोहो¥याए ।