नेपाली रेललाई कोलकातासम्मको पहुँच

नेपाली रेललाई कोलकातासम्मको पहुँच


नेपाली रेललाई कोलकाता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति दिएको छ ।

यही जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतीय पक्षले नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्न सहमति दिएको हो ।

बैठकका निर्णयबारे जानकारी दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केदारबहादुर अधिकारीले पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत ‘बल्क कार्गो’ ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति भएको जानकारी दिए । त्यसैगरी विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था/इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालन भएपश्चात उक्त रुटमार्फत कार्गो ढुवानी गर्न पाउने गरी सम्झौतामा थप गरिने सहमतिसमेत भएको उनले बताए ।

बैठकले नेपाल–भारत रेल सेवा सम्झौता पाँच वर्षका लागि नवीकरण गरेको छ । त्यसैगरी नेपाल र भातीय अधिकारीबीच तेस्रो विस्तृत पुनरावलोकन बैठकमा छलफल भएका विषय समेटी पारवहन/ढुवानी सहज बनाउन नेपालका तर्फबाट मस्यौदा पठाउने र उक्त मस्यौदालाई चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्ने सहमति भएको छ ।

भारतीय रेल्वेबाट अनुमति प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई टुङ्गोमा पु¥याउन सरोकारवाला पक्षसँग छलफल गर्न भारतीय पक्ष सहमत भएको अधिकारीले जानकारी दिए । बैठकमा तेस्रो मुलुकबाट पारवहन ढुवानीका लािग भारतका धाम्रा र मुन्द्रा बन्दरगाह नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती बन्दरगाह थप गर्ने सहमति भएको उनले बताए ।

बैठकमा नेपालको वीरगञ्ज सुक्खा बन्दरगाहासम्म विद्युतीय रेल्वे लाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । बैठकमा दुवै पक्षबीच रेल सेवा सम्झौताको चौथो बैठक छ महीनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुवै पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गर्ने सहमति भएको छ ।

तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाली पक्षको नेतृत्व आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय पक्षको नेतृत्व भारतको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गरेका थिए ।