चर्चित भारतीय क्रिकेटर युवराजद्वारा सन्यासको घोषणा

चर्चित भारतीय क्रिकेटर युवराजद्वारा सन्यासको घोषणा


भारतीय राष्ट्रिय क्रिकेट टीमका चर्चित खेलाडी युवराज सिंहले जेठ २७ गते सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । युवराजले मुम्बईको साउथ होटलमा केही समय पहिले पत्रकार सम्मेलन गर्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

लामो समयदेखि भारतीय राष्ट्रिय टीमबाट खेलका युवराजले भारतलाई २००७ को टी–२० विश्वकप र २०११ मा आयोजित विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

पछिल्लो समय क्यान्सरबाट पीडित भएपछि आफ्नो फर्म गुमाउँदै गएका युवराज त्यसपछि राष्ट्रिय टीमको पहिलो रोजाईमा पर्न असफल भएका थिए । हालै सम्पन्न आईपीएलमा मुम्बई इन्डियनबाट खेलेका युवराजले उक्त प्रतियोगितामा पनि आफ्नो नामअनुसारको रन बनाउन सकेका थिएनन् ।

एकै ओभरमा ६ छक्का हानेर विश्व चर्चित बनेका युवराज सन्यासको घोषणा गर्दा निकै भावुक बनेका थिए । आफ्नो २५ वर्षको क्रिकेट करियर र १७ वर्षको अन्तर्राष्ट्रिय करियरमा निकै उतार चढावको सामना गर्नु परे पनि कहिल्यै पछाडि फर्केर नहेरेको बताए ।

युवराजले लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने सोच बनाएका थिए । हाल इंग्ल्यान्डमा सञ्चालन भैरहेको विश्वकप क्रिकेट २०१९ खेल्ने उनको सपना थियो । तर खराब फर्म र फिटनेसका कारण उनी टीममा पर्न सकेनन् । यसपछि उनले सन्यासको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि युवराजले आइसीसीद्वारा मान्यता प्राप्त टी–२० क्रिकेट खेल्ने पत्रकार सम्मेलनमा बताए ।