कांग्रेसले आपत्ति जनाएपछि प्रतिनिधिसभा स्थगित

कांग्रेसले आपत्ति जनाएपछि प्रतिनिधिसभा स्थगित


प्रतिनिधिसभाको बैठक भोलि मङ्गलबार बिहान ११ बजेका लागि बोलाइएको छ । आज (सोमबार) अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित गरिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेपछि मंगलबारसम्म लम्ब्याइएको हो ।

ज्ञात रहोस्, संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने कांग्रेसको अडान थियो ।

गृहमन्त्री आएपछि जवाफ दिन समय दिने भन्दै सभामुख कृष्णबहादुर महराले पटक पटक बैठक चलाउन खोजे पनि कांग्रेसले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । तर, निर्धारित समयमा गृहमन्त्री जवाफ दिन नपुग्ने भएपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।