राष्ट्रिय उसुमा मनमैजु टिमको दबदबा

राष्ट्रिय उसुमा मनमैजु टिमको दबदबा


मनमैजु उसु क्वानले दोश्रो अन्तरक्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जितेको थियो ।

नेपाल उसु महासंघको संयोजनमा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र २ कांस्यसाथ शिअ उसु क्वान दोश्रो भयो । तेश्रो स्थानको बुद्ध प्रकाश उसु क्वानले ६ स्वर्ण, १२ रजत र ६ कांस्य हात पाऱ्यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

थाउलोको पुरुषमा मनमैजुका अमरबहादुर पुलामी र महिलामा शिअकी सम्झना चौधरी उत्कृष्ट खेलाडी चुनिए । सान्सौंको पुरुषमा डोल्पा उसु क्वानका रोहित चौधरी र महिलामा मनमैजुकी नविना विक उत्कृष्ट खेलाडी बने । उत्कृष्ट चारैले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल ओलम्पिक कमिटीका सहमहासचिव राजीव श्रेष्ठ, उसु महासंघका महासचिव लाक्पा लामालगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ३२ टिमका २ सय ८७ खेलाडीले विभिन्न ३५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।