इतिहासले हिसाब त राखिहाल्छ नि !

■ केशवप्रसाद भट्टराई

पूर्व कर्महरूको उल्लेख, चर्चा र समीक्षा राजनीति र सामाजिक जीवनमा भैरहन्छ !
हामी भाग्न पाउन्नौँ !
०००
पछि आएर बाल्मिकीलाई भगवान भन्न थालियो,
महर्षि भनिए,
संस्कृत भाषाका त आदिकवि नै मानिन्छन्,
तर, पहिला उनी रत्नाकर डाँकु थिए भनेर हामी उल्लेख गरिरहन्छौँ ।
०००
सिङ्गो एसिया महादेश त के विश्वमा नै बुद्ध प्रतिष्ठित छन्–
तर नेपालमा उनी जन्मिएका थिए भनेर दाबी गरिरहेका छौँ !
बुद्ध कसैका होइनन्, सबैका हुन् !
किन बुद्ध नेपालमा जन्मिएका थिए भनेर हामी रडाको गर्दछौँ त ?
०००
पहिलोपटक सगरमाथाको शिखरमा पुगे,
विश्व विख्यात भए ,
लगत्तै भारतको नागरिकता लिए र उतै बसे–
तर हामीले ‘हाम्रो तेञ्जिङ शेर्पाले चढे हिमाल चुचुरो’ भनेर गीत गायौँ ।
०००
पछि गएर पन्जावका राजा रणजित सिंहको सेनामा रहेर उतै मृत्यु प्राप्त गरेका बलभद्रलाई
पूर्वकार्यकै आधारमा हामी राष्ट्रिय विभूति मानिरहेका छौँ !
‘मर्यादा पुरुषोत्तम भनिने भगवान रामले किन सीताको अग्नीपरीक्षा लिए ?’–
हामी अझै प्रश्न गरिरहेका छौँ ।
इतिहास इतिहास हो !
राम्रो–नराम्रो उल्लेख भइरहन्छ ।
०००
बाबु–बाजेले गरेको राम्रो र नराम्रो दुवै कुराको उत्तराधिकार र सो बापतको दायित्व
सन्तान–दरसन्तानले बेहोर्नु पर्दछ ।
रोग पनि वंशानुगत हुन्छन् र गुण र दुर्गुण पनि…जिनमा आउँछ भन्छन् त !
०००
तथ्य, प्रमाण र तर्क कुनै आधारमा पुष्टि गर्न सकिने अवस्था छैन, तर
अढाई सय वर्षअघि पृथ्वीनारायण शाहले
किर्तीपुरका मानिसको नाक काटेको उल्लेख गरिरहन्छौँ ।
भने !!!
क्रान्तिको नाउमा हाम्रै जीवनकालमा झापामा आफ्नै घरमा सुतिरहेका
ढकाल परिवारको घाँटी रेटेर हत्या भयो !
पार्टीको नाउँमा भयो, विचार र दर्शनको नाउँमा भयो !
हत्यामा संलग्न मानिस अझै राजनीतिमा सम्मानित हैसियतमा छन् !
०००
व्यक्तिगत रूपमा आज आएर म पनि केपी ओली र सीपी मैनालीलाई अत्यन्त श्रद्धा गर्दछु !
केपी ओलीलाई मैले आज सम्मान गर्नुको पछाडि पनि उनको पूर्वकर्म नै हो
(अघिल्लो कालको उनको प्रधानमन्त्रीत्व मलाई स्वागतयोग्य र ऐतिहासिक लाग्यो)
तर क्रान्तिको नाउमा धर्मप्रसाद ढकाल र शिवप्रसाद ढकालहरूको परिवार मारिएको प्रसङ्ग त आइरहन्छ !
केपी ओली र सीपी मैनालीहरूको नाउँ त्यो हत्यासँग जोडिएर आइरहन्छ !
उनीहरू, उनीहरूका परिवार र कार्यकर्ताहरूले त्यसको भार नबोकेर कहाँ सुख पाइन्छ र ?
हो– आफ्नो व्यवहारले बिर्सने पार्न सकिन्छ !
वाल्मिकी बन्न सकिन्छ तर रत्नाकरलाई इतिहासबाट मेट्न र त्यसको उल्लेख नै नआउने त गर्न सकिन्न ।
०००
सबैको आँखा अगाडि झल्झली छ–
हिजो माओवादीले कस्तो हत्या, हिंसा र लूट मच्चायो !
हजारौँ होनहार युवायुवती मारिए !
कर्मठ राजनीतिकर्मीहरू मारिए !
इमान्दार शिक्षक र सुयोग्य विद्यार्थीहरू मारिए !
हात–खुट्टा भाँचिए !
०००
दुवै तर्फबाट मेरा अनेकौँ शिक्षाक साथी मारिए !
मेरा प्रिय विद्यार्थीहरू मारिए !
साथी–संगातीहरू मारिए !
त्यसरी मारिनेमा धेरै सुहृद मित्र र मान्यजनहरू पनि थिए
गाउँले भाइ बहिनी, भतिजा–भतिजीहरूको हत्या भयो
मेरा परिवार र नाताका पनि मारिए !
जब ती घर परिवारको सन्दर्भ आउँछ–
अनि… ???
०००
काङ्ग्रेसलाई दुधले धोएको कसले भनेको छ र ?
होइन–थिएन !
काङ्ग्रेसको नाउँमा पनि ज्यादती भएकै थिए ।
लूटपाट भएको थियो ।
एकाध हत्या पनि भएको हो ।
विमान अपहरण र सरकारी रकम पनि लुटिएको हो ।
ती इतिहासमा अभिलेखबद्ध छन् !
२०४६ पछिको राजनीतिमा काङ्ग्रेसले पनि विकृति, विसंगति, मूल्यहीनता र अवशवादिता भित्र्याएकै हो ।
राजनीतिक दृष्टिहीनता देखाएकै हो ।
०००
कसैलाई श्राप दिँदा ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भनेर भनेको सुनेर नै हामी पनि हुर्किएका हौँ !
कसैलाई गाली गर्दा ‘काङ्ग्रेस मोरो’ वा ‘काङ्ग्रेस जस्तो’ भनेको सुनेकै हौँ !
गाउँघरमा यताउता, वारी–पारी काङ्ग्रेसको पक्षमा संगठन गर्दा पङ्क्तिकारले पनि
काङ्ग्रेसका सम्बन्धमा धेरै स्पष्टिकरण दिनुपरेको, क्षमायाचना गर्नुपरेको थियो ।
तर आफ्नो आफ्नो व्यवहारबाट त्यो छाप मेट्न सकिँदोरहेछ भनेर सिक्दै र बुझ्दै पनि जाइने रहेछ ।
०००
राजाहरूका पालामा पनि धेरै नराम्रा काम भए !
गैरन्यायिक हत्या भए !
भ्रष्टाचार भए !
मुलुकको प्रजातान्त्रिकरण र विकासको गति अवरूद्ध भयो ।
सबै देखियो, भोगियो र बेहोरियो पनि !
०००
तर अब निष्पक्ष समीक्षा गरौँ त–
राजाले सम्पूर्ण सत्ता हातमा लिएको बेलामा कतिको हत्या भयो ?
कति भ्रष्टाचार भयो ?
अनि निर्वाचित, प्रजातान्त्रिक र लोकतान्त्रिक सरकारको पालामा कति हत्या भयो ?
शासनमा अनैतिकता कति आयो ?
भ्रष्टाचार कति भयो ?
०००
अनि कुनै प्रसङ्गमा ती उल्लेख हुँदा तिनले यथास्थान चर्चा पाउँछन् !
राजा, काङ्ग्रेस, पूर्वमाले, एमाले, माओवादी सबैका प्रसङ्ग सन्दर्भअनुसार आउने हुन् !
झापा काण्ड, धर्मप्रसाद, शिवप्रसादहरू बेगर त केपी ओली, सीपी मैनालीहरूको राजनीतिक जीवन आरम्भ नै हुन्न !
१७ हजारको हत्या, भारतमा प्रचण्ड र बाबुरामहरूको निर्वाध बसाई, ब्रजेश मिश्र (तत्कालीक भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार)सँग भारतको तोकिएको हितको रक्षा गर्नमा प्रचण्ड र बाबुरामहरूले सघाउने र भारतले राजा हटाइदिने सहमति, अनि दिल्लीमा भएको १२बुँदे बेगर प्रचण्ड र बाबुरामहरूको राजनीतिक जीवनी पूर्ण हुन्छ र भन्या ?
०००
बीपी कोइराला र गणेशमानहरूले नेपाल–भारत सीमानाको सय किलोमिटर क्षेत्र पर नै रहनुपर्ने तर प्रचण्ड–बाबुरामहरू निर्वाध सबैतिर आउजाउ गर्न पाउने, हतियार ओसार्न पाउने कुरा इतिहासबाट मेटिन्छ र भन्या ?
‘हाम्रो कुरा आयो’ भनेर रिसाउन, भाग्न पाइन्छ र भन्या ?
इतिहासले हिसाब त राखिहाल्छ नि !
तिनलाई बिर्सन सकिन्न !
०००
राजनीति र सामाजिक जीवनमा वास्तविक कुरा गर्दा ‘स्तर’को कुरा हुन्न !
मान्छे मार्न हुने, माऱ्यौ भन्न नहुने हुन्छ र भन्या ?
भएको कुरा गर्दा उतर्सिएर, रिसाएर हुन्छ ?
देखेको कुरा नगरेर आफैंलाई ढाँट्नु र ?

Keshav Prasad Bhattarai/facebook

प्रतिक्रिया