‘कानुनी र नीतिगत झन्झटका कारण नेपालमा लगानी गर्न समस्या’

‘कानुनी र नीतिगत झन्झटका कारण नेपालमा लगानी गर्न समस्या’


–नवराज चालिसे, बेल्जियम (ब्रसेस)
नेपाल सरकारको कानुनी र नीतिगत झन्झटका कारण नेपालमा लगानी गर्न समस्या भएको युरोपमा रहेका नेपाली व्यवसायीहरुले गुनासो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा लगानीको वातावरण निर्माण गर्न र दुई पक्षीय लगानी प्रवद्र्धन गर्न युरोप भ्रमणमा रहेका बेला नेपाली समुदायका व्यवसायीहरुले नेपालमा सरकारले लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न नसकेको गुनासो पोखेका छन् । व्यवसायीहरुले नेपालमा उद्योगधन्दा र व्यवसायमा लगानी गर्दा प्रशासनिक अवरोध र नीतिगत अन्योलका कारण चाहेर पनि लगानी गर्न नसकिएको बताएका छन् ।

युरोप भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग बेल्जियमको ब्रसेल्समा नेपाली समुदायका व्यवसायीसँग आयोजित अन्तरक्रियामा उनीहरुले सरकारले नेपालमा लगानीका लागि आह्वान गरे पनि अझैसम्म उचित वातावरण बन्न नसकेको बताए । एउटै कामका लागि पनि विभिन्न सरकारी कार्यालय धाउनुपर्ने बाध्यताका कारण लगानीका लागि उद्यमी व्यवसायी उत्साहित नभएको गैरआवासीय नेपाल संघ युरोपका अध्यक्ष शिवकुमार बरुवालले बताए । लगानीका लागि स्थिर सरकार भएर मात्रै नपुग्ने बताउँदै अध्यक्ष बरुवालले भने, ‘लगानीका लागि स्थिर सरकार पनि जरुरी छ । तर, लगानीका लागि आवश्यक ऐन कानुन नै बाधक बनेका छन् । सहज किसिमबाट लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्छ । कानुनी जटिलताहरुलाई हटाउनुपर्छ ।’

सरकारले सहज वातावरण बनाउने हो भने युरोपमा रहेका नेपाली व्यवसायीहरु जति पनि लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे । नेपालमा लगानी गर्न विदेशमा रहेका व्यवसायीहरु आतुर रहेको अध्यक्ष बरुवालले बताए । ‘नेपालमा लगानी गर्नका लागि हामीले एउटा खुट्टा उचालिसकेका छौं,’ बरुवालले भने, ‘त्यसका लागि सरकारले तत्कालै वातावरण बनाउनुपर्छ ।’

बरुवालले एनआरएनले नेपालमा हालसम्म ८० अर्बभन्दा बढी लगानी गरिसकेको जनाए ।
महासंघ उपाध्यक्ष किशोर प्रधान नेतृत्वको नेपाली उद्योगी व्यवसायीको टोली दुई साता लामो युरोप भ्रमणमा छ । नेपालमा लगानी भित्र्याउन र नेपाल भ्रमण वर्ष २०२० सालाई निजी क्षेत्रका तर्फबाट सफल पार्न महासंघको टोली युरोप आएको हो । लगानीका लागि योजना लिएर जाँदा विद्यमान ऐन कानुनका कारण व्यवसायी निराश भएर फर्किने गरेको उनले सुनाए । विश्वमा छरिएर रहेका ५० लाख नेपालको पुँजीलाई एकीकृत गरेर नेपालमा लगानी गर्ने हो भने सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन समय नलाग्ने अध्यक्ष बरुवालले बताए । ‘प्रोजेक्ट लिएर गयो भने एउटा कार्यालयले यो पुगेन भन्छ अर्को कार्यालयले अर्को थोक पुगेका भन्छ र अन्त्यमा लगानीका लागि उत्साहका साथ गएको व्यवसायी निराश भएर फर्कन्छ,’ उनले भने ।

अध्यक्ष बरुवालले युरोपमा रहेका नेपालीले मातृभूमिलाई नबिर्सिएको बताउँदै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी दिए । नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमनाथ निरौलाले भ्रमण वर्ष सफल पार्न व्यवसायीहरुले प्रचार सुरु गरिसकेको बताए । उनका अनुसार नेपाली समुदायले सञ्चालन गरेका होटल र रेष्टुरेन्टमा अडियो, भिडियो र प्रचार सामग्रीहरु राखिएको छ । बेल्जियममा मात्रै नेपाली समुदायले सञ्चालन गरेका होटल र रेष्टुरेन्ट ३ सयभन्दा बढी छन् । सबै रेष्टुरेन्ट र होटलमा अडियो र भिडियोसहित प्रचार सामग्री राखिएको छ ।

काम विशेषले मुलुकबाहिर बसे पनि मातृभूमिको चिन्ताले सधैं सताइरहने नेपाली व्यवसायी संघ बेल्जिमका अध्यक्ष यामनाथ निरौलाले बताए । ‘हामीले विगतमा परोपकारी क्षेत्रमा काम ग¥यौं । अब मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न चाहन्छ,’ निरौलाले भने, ‘तर, अझै पनि नेपालमा लगानीको वातावरण बनिसकेको छैन ।’ उनले सीमित समय लिएर नेपाल जाँदा सरकारी प्रक्रिया मिलाउँदा नै समय सकिने गरेको बताए । उनले लगानीको सबै प्रक्रिया एकद्वार प्रणालीबाट गरिए धेरै सहज हुने उल्लेख गरे । निरौलाले लगानीका लागि स्पष्ट खाका दिनसमेत सरकारलाई आग्रह गरे । विज्ञ समूह गठन समस्या हल गर्न उनले सुझाए ।

कानुनी प्रक्रिया मिलाउँदै व्यवसायीहरु थान्ने गरेको उनको भनाइ थियो । लगानीमैत्री नीति र कानुन बनाउन उनले सुझाए । संघका महासचिव मदन दवाडीले संघमार्फत जलविद्युतमा लगानी गरिएको जानकारी दिए । बेल्जियममा रहेका व्यवसायीहरुको कम्पनी दर्ता गरेर जलविद्युतमा लगानी गरेको उनले बताए ।
महासंघका उपाध्यक्ष प्रधानले विदेशमा रहेका नेपालीहरुले आप्mनो मातृभूमिलाई बिर्सिएर विदेश खुसी हुन नसक्ने उल्लेख गर्दै नेपाल फर्किएर लगानी गर्न आह्वान गरे । उनले महासंघले लगानीको वातावरण बनाउन सरकारलाई दबाब दिने आश्वासन दिए । कार्यक्रममा प्रदेश १ का सांसद लिलम बस्नेतले नेपालमा राजनीतिक स्थिरता कामय रहेकाले अब लगानीको वातावरण पनि बन्दै गएको बताए । उनले नेपालमा गरेको लगानी अब सुरक्षित हुने दाबी गरे ।

रसुवास्थित गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसन नुर्बु शेर्पाले धुन्से गोसाइँकुण्डको केवलकारको अवधारणा प्रस्तुत गर्दै सो केवुलकारमा लगानी गर्न आह्वान गरे । रसुवा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका शेर्पाले नेपालमा केवुलकारका लागि स्वीरल्याण्डबाट सिक्न सकिने बताए ।

अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्का, महासंघका केन्द्रीय सदस्य मनिषलाल प्रधान, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलम बस्नेत, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केवशप्रसाद भण्डारी, गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमित भट्टचन, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाही, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति, मलंगवा उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकरप्रसाद साह, रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसन नर्बु शेर्पा, शिद्धार्थ नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीलगायतले नेपालमाा लगानी बनिरहेको बताए ।