कुलेखानी तेस्रोको पहिलो युनिटको परीक्षण

कुलेखानी तेस्रोको पहिलो युनिटको परीक्षण


१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजनाको परीक्षण सकिएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरण स्वयंले नै रुग्ण आयोजनाको सूचीमा राखेको थियो । यो आयोजना निर्माण सुरु भएको १० बर्षपछि निर्माण सम्पन्न भएको हो ।

निर्माण व्यवासायीको लापरवाहीका कारण विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरको प्रयासपछि आयोजना सम्पन्न हुने चरणमा पु¥याइएको हो । आयोजनास्थल मकवानपुरमै रहेका कार्यकारी निर्देशक घिसिङले रासससँग भने, ‘आयोजनाको पहिलो युनिटको विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको छ ।’ प्राधिकरणको हरतरहको प्रयासले आज सार्थकता पाएको छ कार्यकारी निर्देशक घिसिङले खुशी व्यक्त गरे । उनले भने, ‘प्राधिकरण मातहतका सबै रुग्ण आयोजना अब सम्पन्न भएका छन् ।’ विद्युत् उत्पादन नगरी उपकरणको ‘नो लोड टेस्टिङ’ सम्पन्न भएको उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन प्राधिकरणकै प्राविधिक कर्मचारी लगेर भए पनि आयोजनालाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आफ्ना प्राविधिक कर्मचारीलाई परिचालन गरी निर्माण व्यवसायीलाई समेत बाध्य पारेर काम गराउन सफल भएको हो ।

आइतबार पहिलो युनिट अर्थात् सात मेगावाट क्षमताको पहिलो युनिटको परीक्षण गरिएको हो । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई गत वैशाखमा नै समाधान गरिदिएको थियो । सो समस्याको समाधान भएपछि आयोजना विद्युत् उत्पादन गर्ने चरणमा पुगेको हो । दोस्रो युनिटको पनि केही दिनभित्रै परीक्षण गरिनेछ ।

आयोजनाको मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ । ‘हामी विद्युत् उत्पादन गर्ने चरणमा आइपुगेका छाँै । लामो समयको मेहनत अब सार्थक हुने अवस्थामा पुगेको छ ।’, कार्यकारी निर्देशक घिसिङले भने । आयोजनाको निर्माण चालू आवभित्रै सम्पन्न हुने भएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोड ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झण्डै सात करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको शुरुको लागत रु दुई अर्ब ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ । प्राधिकरणले यसअघि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए र ३० मेगावाट क्षमताको चमेलिया सम्पन्न गरेको छ । यस्तै केही रणनीतिक महत्वका प्रसारण लाइनको पनि निर्माण सम्पन्न गरिसकेको छ ।