कुनै पनि राष्ट्रको मौलिकतासँग फिरङ्गीहरूको पहिलो दुश्मनी

कुनै पनि राष्ट्रको मौलिकतासँग फिरङ्गीहरूको पहिलो दुश्मनी


■ डिल्ली अम्माई, बेल्जियम

मैले धर्म वा संस्कारलाई कसरी बुझ्छु त्यो मेरो निजी कुरा हो । तर, यसले हाम्रो मौलिक संस्कृति निर्माणमा कस्तो प्रभाव पारेको छ त्यो गहन सार्वजनिक विषय हो । हिन्दू, जैन, शिख, बुद्ध वा बोन धर्मको जेलो पूर्वीय दर्शनभित्र छुट्याउन नमिल्ने गरी जेलिएको छ । त्यो पूर्वीय दर्शनमा अन्योन्याश्रित छ र पूर्वीय सभ्यता र संस्कृतिमा त्यसको प्रभाव नेतृत्वदायी छ । हाम्रो राष्ट्रियताका अङ्गहरूलाई पूर्वीय दार्शनिक मान्यताबाट अलग गर्न नसकिएझैँ सांस्कृतिक तथा भाषिक शब्दकोशमा पनि त्यसको छुट्याउनै नमिल्ने प्रभाव रहेको छ ।

त्यसमा सामान्तवादी युगमा केही गलत मान्यता जोडिए । नेपालको सन्दर्भमा लामा–झाँक्री, भाग्य अर्को जुनीको फल, कर्मकाण्डी अफबवाह, जाति प्रथा, देउकी, कुमारी प्रथा तथा मन्दिरमा बलि दिने चलनजस्ता रुढीगत मान्यताहरू बलजफ्ती संस्कृतिभित्र छिराइयो । त्यसैले हाम्रो नेपाली संस्कृतिका यी खराब प्रभावलाई सही मान्न कदापि सकिँदैन । त्यस्ता सांस्कृतिक विकृतिको रूपमा छिरेका गलत अफवाह र संस्कारको रूपान्तरण आवश्यक छ ।

तर, मुख्य कुरा ती विकृतिहरूलाई हाम्रो सांस्कृतिक मौलिकता न खल्बलिने गरी परिमार्जन र रूपान्तरण गर्दै लैजानुपर्छ । मौलिकताको मूल स्वरूप मासियो भने रूपान्तरणले कुनै अर्थ राख्दैन । त्यसले हाम्रो मौलिक दर्शन, सभ्यता र संस्कृतिको विनाश गर्दछ । अन्तमा मौलिक कला तथा संस्कृतिको विनाश भनेको राष्ट्रियताको मात्र नभई पूर्वीय सभ्यताको समेत समाप्ति हो ।

संसारभरि रहेका समुदायबीच कलाको आफ्नै विशिष्ट राष्ट्रिय रूप र राष्ट्रिय शैली हुन्छ । सबैले यो कुरा बुझ्दैनन् । अझ प्रवासमा रहेकाहरूले यो कुरा बुझ्न झन् मुस्किल हुन्छ । उनीहरू आफ्ना राष्ट्रिय विशेषताहरूको उपेक्षा गर्छन् र अन्धतापूर्वक पश्चिमाहरूको पूजा गर्छन् र के सोच्छन् भने हरेक सन्दर्भमा पश्चिमी सभ्यता नै उत्कृष्ट छ । उनीहरू पूर्ण पश्चिमीकरणको वकालत गर्दै निकै अगाडिसम्म पुग्छन् । भन्नैपर्छ यो गलत सोच हो ।

पूर्ण पश्चिमीकरण अव्यावहारिक छ र यसलाई नेपाली जनसाधारणले कहिल्यै स्वीकार गर्दैन । यो प्रवासमा रहेको दोस्रो पुस्तालाई बुझाउन सकेका छैनौँ किनकि हामी पनि बहकिएका छौँ । बिनाकारण हामी कदापि बहकिनु हुँदैनथ्यो । हाम्रा कुन कुराको हामीमाथि, हाम्रो समुदायमाथि र सांस्कृतिक पहिचानमाथि गहन प्रभाव छ छुट्याउनैपर्छ । यो विषय गहन हो भनेर विज्ञ नेपालीलाई बुझाउनैपर्छ ।

अस्ति एकजना साथीले अर्ती दिनुभो, ‘मित्र, तपाईंले धर्म–संस्कृति र पत्रकारितालाई सँगै हिँडाउन मिल्दैन । विवादमा पर्नुहुन्छ !’ मैले त्यतिबेला उनीसँग धेरै कुरा गरिनँ । यति मात्र भनेँ, ‘साथी, हाम्रो पत्रकारिता वास्तवमा केको लागि हो ? मभन्दा अग्रज पत्रकारहरूसँग सोध्नुहोला, त्यसको सहज उत्तर अवश्य मिल्नेछ ।’

हाम्रो पत्रकारिता विशेषतः आधारभूत वर्गको लागि हो । भुइँमान्छेहरूको अधिकतम हिस्साले बोक्ने आस्था, विश्वास र उनीहरूभित्र रहेको राष्ट्रिय तन्तुहरूसमेत हाम्रा पत्रकारिताका हिस्सा हुन् । उनीहरूको सुख, दुःख, आशा र भविष्यप्रतिको चिन्तासमेत हाम्रो कलमका हिस्सा हुन् । अनि पूर्वीय मान्यता खास गरेर पूर्वीय सनातन हिन्दू सभ्यता र संस्कृतिका हिस्सा हुन् । त्यसभित्र गलत मान्यता पनि छन् त्यसमध्ये कतिपय मध्ययुगमा (जसलाई हामी अन्धकारको युग पनि भन्दछौँ) शक्तिको आडमा छिराइएका अन्ध विश्वास पनि होलान्, त कतिपय डरबाट निर्मित मान्यता पनि होलान् । त्यसको रूपान्तरण जरुरी छ । तर, हाम्रो सांस्कृतिक सनातनी त्यसभन्दा अगाडि, विकसित र निःतान्त ब्रह्माण्डीय ज्ञानबाट निसृत छ । हाम्रो ओमकार परिवारभित्रको ज्ञान सकार, विशाल छ । अहिले आक्रमण बढ्दै गएको त्यही वैदिक युगमा विकसित सर्वपक्षीय माथि हो र हामीले संरक्षणका लागि आवाज उठाएको त्यसको लागि नै हो ।

राजतन्त्रको आवश्यकताबारेको बहस मैले निरर्थक देख्छु । हिजोका राजा देशभक्त थिए । हाम्रो देश विशाल बनाए । त्यसमा खाली राजाको मात्र योगदान थियो भन्ने कुरा मैले मान्दिनँ । भक्ति थापा, बहादुर शाह, वीरभद्र, भीमसेन थापालगायतका देशभक्तहरूको समेत देश निर्माणमा उत्तिकै योगदान छ । त्यो अभियानमा हजारौँ शहीदसमेत भए । उनीहरूको पनि त्यसमा योगदान रहेको छ । ती कुराहरू लेखाइएको इतिहासमा समेटिएनन्, जुन अलग कुरा हो ।

नेपाल एकीकरणको लक्ष्य र गोरखाको विस्तार दुई फरक कुराहरू हुन् । गोरखाको विस्तार गर्ने महत्वाकाङ्क्षी योजनाले कालान्तरमा नेपाल एकीकरण भएको हो । योगदानको हिसाबले उनीहरूको सम्मान गर्ने कुरा हुन्छ । सुरेन्द्र र राजेन्द्रविक्रमहरूको पनि समीक्षा त हुन्छ नि ? सुगौली सन्धिमा देश बेच्ने तिनीहरू होइनन् ? हजारौँ नेपाली चेलीलाई रखैल बनाएर दरबारमा गुमनाम बनाउने तिनीहरू होइनन् ? प्रश्नहरू छन् ! ती प्रश्नहरू इतिहासमा पनि थिए र अहिले पनि छन् । त्यही वंशमा जन्मेका सबै देशभक्त, जनप्रिय र जनसेवक राजा हुन्छ भन्ने विश्वास गर्न सकिँदैन । त्यसैले पनि राजतन्त्रको बहस निरर्थक छ । हाम्रो अहिलेको मूल चासो राष्ट्रिय सुरक्षाको हो, देशको अस्तित्वरक्षाबारे हो, सांस्कृतिक र मौलिक सभ्यता विनाश रोक्ने उपायबारे हो ।

के कारणले हाम्रा चुनौतीहरू बढी रहेका छन् ? कसरी ति चुनौतीहरूको सामना गर्न सकिन्छ ? जनताको ठूलो हिस्सा किन निराश छ ? हाम्रो सांस्कृतिक बिरासत धर्मराउँदै गर्दा हामी किन तै चुप र मै चुप छौँ ? खै हाम्रो आत्माबल कता हरायो ? हाम्रा बाह्य चुनौती के–के हुन् ? सबै कुराको बहस हुनु आवश्यक छ ।

बाह्य चुनौतीबारे पङ्क्तिकारले बेल्जियममा भएको अघिल्लो बहसबारेको लेखमा आफ्नो निचोड सुनाइसकेको हो । त्यो छलफलको निचोडलाई त्यहाँ यसरी प्रस्तुत गरिएको थियो ‘जबसम्म जनतामा आफ्नो पूर्वजहरूको आस्था, आफ्ना मौलिक सांस्कृतिक बिरासतप्रतिको मोह सकिँदैन तबसम्म त्यो देशका मानिसको स्वाभिमान, माटोप्रतिको मोह र समुदायमा बोलिने भाषाबाट च्यूत गराउन मुस्किल पर्दछ । त्यसैले परचक्रीहरूको पहिलो प्रहार भाषा मात्र नभएर धर्मसमेत हुने गर्दछ । मौलिक आस्थाबाट हाम्रो भाषा, हाम्रा रहनसहन, चाडपर्व र व्यक्तिगत तथा सामाजिक जीवनपद्धति निःसृत हुन्छ । धर्मले ती सबै कुराको मनोवैज्ञानिक नेतृत्व गरिरहेको कुरा फिरङ्गीहरूले राम्रोसँग बुझेका छन् । उनीहरूले धेरै कालको अथक प्रयोगबाट यो कुरा बुझेका छन् । त्यसैले कुनै पनि राष्ट्रको मौलिकतासँग उनीहरूको पहिलो दुश्मनी हुन्छ । जुन स्वतः भाषा, धर्म र संस्कृतिसँग जोडिएर आउँछ ।’

नेपालको सन्दर्भमा भन्नुपर्दा हाम्रो सांस्कृतिक बिरासतलाई चुनौती दिने केही आन्तरिक चुनौतीहरू पनि छन् । तीमध्ये केही निम्न छन्-

पहिलो हो– आत्मविश्वास र जिम्मेवारी बोधको अभाव ।’ देशका लागि आवश्यक बेला जस्तोसुकै त्याग पनि गर्न सक्छु, हाम्रो सभ्यता हाम्रो सम्पत्ति हो र यसको रक्षा गर्ने दायित्व पनि हाम्रो हो ।’ यो सोच नै आत्माबोधसहितको विश्वास हो । त्यसमा हाम्रो कर्तव्यसमेत समाहित भएको हुन्छ ।

प्रधानमन्त्री र पार्टीका माथिल्लो तहबाट गरिने अर्बौं अर्बका भ्रष्टचारलाई राजनीतिक तहबाट छोपिएको छ । पियनदेखि माथिका पदमा नियुक्ति पाउन पैसाको झोला बुझाउने संस्कार झाँगिएको छ ।

‘हामी विदेश जाने–आउनेहरूबाट समेत जानअन्जानमा बाह्य सांस्कृतिक तस्करी बढेको छ है, भन्दा अस्ति मैले एकजनाबाट झन्डै पिटाइ खाइनँ । तर, त्यो कुरा आधा सत्य मात्र नभएर पूर्ण सत्य हो । हामीमा हाम्रो संस्कृति, सभ्यता र दर्शनबारे कि त भ्रम छ कि त बुझेका छैनौँ । हामीले राम्रा संस्कार विदेशीबाट नेपाल लिएर लैजाँदा हुन्छ । त्यो पनि पूर्वीय संस्कारीहरूलाई पाखे भन्ने हैसियतमा होइन । हामीले हाम्रो पहिचानको रक्षार्थ र समाजको हित हुने क्रममा जसरी प्राचीनबाट सिक्दछौँ त्यस्तै विदेश वा पश्चिमी सभ्यताबाट पनि सिक्न कन्जुस्याइँ गर्नुहुँदैन । यो कुरा हाम्रा पुरातन संस्कारीहरूलाई छुवाछुत, विभेद, बलिप्रथाका हिंसाधिकारीहरूको रूपान्तर गर्ने हदमा समेत लागू हुन्छ ।

देशमा आत्मनिर्भर शिक्षानीति, नैतिक मान्यताको प्रचार, श्रमिक रूपान्तरण प्रक्रिया, जन सुरक्षानीति, न्यायनीति, समान अवसर, राज्यमा पहुँच आदि कुराहरूले पनि स्वाभिमानमा बढोत्तरी गर्छ ।

दोस्रो पक्ष भनेको धर्म, राजनीति, शिक्षा, संस्कार, संस्कृतिप्रतिको गलत बुझाइ र अलगावबारे हो । पूर्वीय संस्कृतिमा धर्म भनेको सभ्यताको अनुभवबाट सिर्जित नीति–नियम हुन्, जसले समाजमा विकृति रोकेर, मनोबल बढाएर अन्ततः राज्यलाई सहयोग पुऱ्याउँछ । यो पक्ष भत्काइयो भने राष्ट्रियतामा सङ्कट आउँछ । देशको मौलिकतालाई आधार बनाएर, हावापानी, माटो, जनता र यसमा मौलिक भाषाको प्रभावबारे न्यायिक विश्लेषण गर्दै नेताहरूले राष्ट्रियताको जगेर्ना गर्नुपर्ने हो । आर्थिकलगायत विभिन्न लोभमा परेर परधर्म वशीभूत हुँदै आफ्नो मौलिक सभ्यताउपर नबर्सिनुपर्ने हो । पश्चिमा धर्मदेवता जिससको रगतको साङ्केतिक होली वाइन, उनीहरूको पैसामा विदेश भ्रमण, उनीहरूको धार्मिक स्कुलबाट वारिधि नेपाली नेताको प्रिय बन्नु दुःखद् हो । यिनीहरूले हाम्रो सांस्कृतिक बिरासत बिस्तारै विदेशीको पाउमा सुम्पँदै छन् जस्तो आभास किन हुँदै छ अचेल ? त्यसप्रकारका प्रवृत्तिको प्रतिकार गर्नुको साटो हामी लाटिएका छौँ किन ? हाम्रो संस्कृति नै नरहे हामी रहुँला र ? यो प्रश्नले सबैलाई घोच्नुपर्छ अब ।

एसएसबीले सीमाका तारबार उखेल्दा र सीमा क्षेत्रका नेपाली जनतामाथि हातपात गर्दा, निःशस्त्रहरूमाथि शस्त्र प्रहार गर्दा पनि नेपालका राजनेताहरू किन बोल्दैनन् ? नेपाल सरकार किन बोल्दैन ? नेताहरूलाई नेपालको भाग्यभविष्यप्रति विश्वास छैन । विश्वास छ त विदेशी धर्मप्रचारकहरूको आशीर्वाद, पुरस्कार, उपाधि र पहेँलो मदिरापानप्रति छ । ‘नेपाली राजनेताहरू आफ्नै निहित स्वार्थमा नाकसम्म डुबेका छन् । नाकैसम्म डुबेपछि बोल्न सकिँदैन । नेताहरूलाई नेपाल र नेपाली जनताको स्वाभिमान संरक्षणभन्दा आफ्नै स्वार्थरक्षण प्रिय छ !’ नेताहरूबारे जनताले यसरी निष्कर्ष निकाल्नु दुःखद् हो ।

संस्कार, संस्कृति भनेको व्यक्तिदेखि देशका गौरव हुन् । त्यसलाई बचाउन हाम्रो नेतृत्व सजग हुनुपर्ने हो, तर नेता त वास्तवमै विदेशीहरूबाट किनिएजस्ता निरीह छन् । उनीहरूकै इसारामा लुरुलुरु अघिपछि गरिरहन्छन् । यो नेतृत्वको अवस्थालाई सामान्य मात्र भनेर बस्न सकिँदैन । अब यिनको विरुद्ध दबाब दिनु मात्रले देश बर्बादी रोकिएला भन्ने लाग्दैन ।

तेस्रो पक्ष भनेको भ्रष्ट तथा महत्वाकाङ्क्षी नेतृत्व र कर्मचारी तन्त्र हो । मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, विश्वविद्यालय, वन, खोला, प्रधानमन्त्री निवासलगायतका लाखौँ रोपनी सार्वजनिक जग्गा मन्त्री, नेता, कर्मचारी र बिचौलियाको मिलेमतोमा बेचिएका छन् । प्रधानमन्त्री र पार्टीका माथिल्लो तहबाट गरिने अर्बौं अर्बका भ्रष्टचारलाई राजनीतिक तहबाट छोपिएको छ । पियनदेखि माथिका पदमा नियुक्ति पाउन पैसाको झोला बुझाउने संस्कार झाँगिएको छ । कूटनीतिकदेखि, सांसदको टिकट प्राप्ति, सुरक्षा अङ्गका ठूलाबडा नियुक्तिमा पैसाको व्यापार हुन्छ । राष्ट्रिय गौरवको लागि दिइने तक्मासमेत बिक्री गरिन्छन् । पञ्चायतकालमा भएका नमिता–सुनिता काण्डका फेहरिस्त अहिले त झन् हेरी र पढी साध्य छैन । हाम्रो संस्कृतिका महत्वपूर्ण अवयव स्वाभिमान, विश्वास, सांस्कृतिक सभ्यताप्रतिको आत्मगौरव, राष्ट्रियताप्रतिको जनविश्वास विचलित छ । ढिला नगरी त्यसलाई कसैले न कसैले नेतृत्व दिनैपर्छ ।

चौथो पक्ष भनेको हाम्रो नेतृत्व तहको वैदेशिक कूटनीतिक असफलता हो । चीनको बीआरआई, अमेरिकाको इन्डोप्यासेफिक, भारतको बीबीआईएन र बिमस्टेक, एसिया प्यासेफिक समिटको नामले क्रिश्चियनहरूको खुला मोर्चामा नेताहरूको उत्ताउलो परिवेशले साँच्चिकै देशमाथि सङ्कट निम्त्याउँदै छ । यदि यी महाभूलहरूको बेलैमा परिमार्जन नगर्ने हो भने नेपालको लागि अर्को राष्ट्रिय सङ्कटको खोजिगरिरहनुपर्ने आवश्यकता पर्दैन । राष्ट्रिय सुरक्षाका लागि राज्यबाट भइरहेको यो गम्भीर विचलनबारे अब चर्को दबाबको खाँचो छ ।

यीबाहेक हाम्रा आफ्नै स्वभावहरू पनि परिवर्तन गर्न आवश्यक छन् । काम वा श्रमप्रतिको विश्वासले हाम्रो काम नगरी धनी बन्ने चाहनालाई विस्थापित गर्छ । इमानदार जीवन–पद्धतिले हामीलाई सामाजिक र वैदिक मूल्यमान्यताको नजिक पुऱ्याउँछ । स्वाभिमानले हाम्रा मूल्यमान्यताउपरको आक्रमणलाई निस्तेज बनाउँदै हामीलाई जुझारु, सचेत र ज्ञानी बनाउँछ । सभ्यतासँगै जन्मिएका राम्रा र नराम्रा संस्कारहरूको प्रशोधनले हामीलाई युगसम्मत, प्रगतिशील र क्रान्तिकारी बनाउँछ । अत हामीले हाम्रो पूर्वीय दर्शनलाई धर्म, संस्कृति र सभ्यताका समग्र सकारात्मक प्रवृत्तिसँग जोडेर हेऱ्यौँ भने मात्र हाम्रो आफ्नो मौलिक ज्ञानलाई अझ परिस्कृत बनाउन सक्नेछौँ । जय मातृभूमि !